रत्ननगर ।
रत्ननगर उद्योग वाणिज्य संघको २६औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले उद्घाटन गरेका थिए।
सभामा उपस्थित अगुवा व्यवसायीहरूले हालको जेनजी आन्दोलनका कारण निजी क्षेत्रले ठूलो नोक्सानी बेहोर्नु परेको बताउँदै मुलुकमा लगानीको वातावरण कमजोर बन्दै गएको गुनासो गरे।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले व्यवस्थापरिवर्तनका आन्दोलनहरूमा निजी क्षेत्र सधैं निसानामा पर्ने गरेको बताउँदै त्यसको दीर्घकालीन असर अर्थतन्त्रमा पर्ने चेतावनी दिए।
महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले आन्दोलनपछि उत्पन्न परिस्थितिले निजी क्षेत्र निराश भएको र नयाँ लगानीकर्ताहरूको भरोसा घट्दै गएको उल्लेख गरे।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उच्च मनोबलका साथ लगानी अघि बढाउन निजी क्षेत्रलाई आग्रह गर्दै सरकार सुरक्षाको ग्यारेन्टी गर्न तयार रहेको बताए। उनले जेनजी आन्दोलनलाई “मानव सिर्जित विपत्ति” भन्दै यसको दीर्घकालीन असर नरहने आश्वासन दिए।
संघका मागहरू
सभामा रत्ननगर उद्योग वाणिज्य संघले व्यवसायिक सुरक्षा, पर्यटन विकास, कर प्रणालीमा सुधार र पूर्वाधार निर्माणमा लगानी केन्द्रित विभिन्न मागहरू अघि सारेको छ।
संघका अध्यक्ष शंकर गिरीले सुरक्षा र स्थिरताको ग्यारेन्टी, कर प्रणालीको सरलीकरण, पूर्वाधारमा लगानी, पर्यटन प्रवर्द्धन र वित्तीय राहतका लागि सरकारसँग माग गरिएको जानकारी दिए।
संघले विशेषगरी चितवनलाई पर्यटन क्षेत्र घोषणा गर्न, सौराहामा श्रोत र साधन सम्पन्न पर्यटन प्रहरी वृत्त स्थापना गर्न, पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता दिन, र पर्यटन क्षेत्रको दीगो विकासका लागि विज्ञ समिति गठन गर्न माग गरेको छ।
अस्पताल र कृषि क्षेत्रमा जोड
संघको पहलमा स्थापना गरिएको बकुलहर रत्ननगर अस्पतालमा दैनिक १,५०० भन्दा बढी बिरामीको चाप रहेको उल्लेख गर्दै संघले अस्पतालमा पर्याप्त विशेषज्ञ चिकित्सक, कर्मचारी र उपकरणको व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह गरेको छ।
त्यसैगरी, चितवनका प्रमुख उद्योगजस्तै माछा, केरा, पोल्ट्री, मह, च्याउ, दुग्ध र तरकारी उत्पादनको प्रवर्द्धनका लागि सहुलियत ऋण, कृषि र सडक पूर्वाधार, बजार संरचना, सूचना प्रविधि विकास, र कृषि विमामा सहुलियतका कार्यक्रम अघि बढाउन संघले माग गरेको छ।
भारततर्फबाट हुने अबैध कृषि पैठारीमा कडाइ गर्न, क्वारेन्टाइन र विषादी परीक्षण प्रणाली सुधार गर्न, तथा खाद्य स्वच्छता मापदण्ड निर्धारण गर्न पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ।
कार्यक्रममा संघका महासचिव उपेन्द्र शर्मा आचार्यले प्रगति प्रतिवेदन र कोषाध्यक्ष विनोद घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
वरिष्ठ उपाध्यक्ष निराजन खनालले धन्यवाद मन्तव्य राखेका थिए भने बागमती प्रदेश उद्योग वाणिज्य महासंघका उपाध्यक्ष गुणराज श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, र लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीलगायतले पनि मन्तव्य दिएका थिए। कार्यक्रम संघका महासचिव आचार्यले सञ्चालन गरेका थिए।

