काठमाडौं — राजधानीसहित देशभर भइरहेको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडानहरू स्थगित गरिएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेका अनुसार प्रतिकूल मौसमका कारण काठमाडौं, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान सञ्चालन रोकिएको हो।
उनले भने, “मौसमी अवस्थाको पुनरावलोकन भइरहेको छ। अन्तर्राष्ट्रिय उडानहरू भइरहेका छन्, तर अविरल वर्षाका कारण आन्तरिक उडान गर्न जोखिम हुने भएकाले फिलहाल स्थगन गरिएको हो।”
अविरल वर्षाले आज बिहानदेखि नै आन्तरिक उडानहरू प्रभावित पारेका हुन्। मौसममा सुधार नआएसम्म उडान पुनः सञ्चालन नहुने जनाइएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि देशका धेरैजसो स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। विभागले पहिरो, डुबान र नदी–नालामा पानीको सतह वृद्धि हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।–00–

