नवरात्रको पाँचौँ दिन स्कन्दमाताको पूजा

काठमाडौं । नवरात्रको पाँचौँ दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको पूजा गर्ने परम्परा छ ।

पौराणिक ग्रन्थअनुसार पार्वतीको आज्ञा स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म लिएको कारण उहाँलाई स्कन्दमाता नाम दिइएको उल्लेख पाइन्छ । स्कन्दमाताको प्रतिमा सिंहासनमा विराजमान, दुवै हातमा कमलपुष्प समाएको स्वरूपमा चित्रित गरिएको छ ।

यस दिन घटस्थापनास्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायतका स्तोत्र पाठसमेत गरिन्छ । धार्मिक विश्वासअनुसार देवी स्कन्दमाताको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता छ ।

नवरात्रभरि आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गरिन्छ । त्यसैगरी, नवमीसम्म गरिएको पूजाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ । यसरी करिब १५ दिनसम्म हिन्दू नेपालीले बडादसैँ पर्व उल्लासपूर्वक मनाउने परम्परा रहेको छ ।

देशभरका शक्तिपीठमा आज स्कन्दमाताको दर्शन तथा पूजा आराधना गर्न भक्तजनको ठूलो भीड लागेको छ ।

Share:

सम्बन्धित समाचारहरु