रत्ननगरको मैनाहामा प्रथम दसैं कप फुटबल प्रतियोगिता

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा वडा स्तरीय प्रथम दसैं कप फुटबल प्रतियोगिता हुने भएको छ ।

प्याराडाइज युवा क्लब र मैनाहा युवा क्लबको संयुक्त आयोजनामा वडा नं ७ मैनाहा स्थित खेल मैदानमा असोज ११, १२ र १३ गतेसम्म प्रतियोगिता आयोजना हुने क्लबका अध्यक्ष एसके चौधरीले जानकारी दिए ।

उनका अनुसार स्थानीय युवाबीच आपसी सद्भाव, एकता र खेलकुदप्रति रुचि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । ‘‘हामीले खेलकुदलाई मात्र प्रतिस्पर्धा होइन, आपसी मित्रता र सामाजिक एकताको माध्यमका रूपमा लिएका छौँ,’’ चौधरीले भने ।

कार्यक्रम संयोजक गोपी विडारीका अनुसार प्रतियोगितामा विजेताले ४० किलो खसी, उपविजेताले २० किलो खसीसहित मेडल र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा ८ वटा टिमबीच प्रतिस्पर्धा हुने र दर्शकले पनि उत्साहजनक खेल हेर्न पाउने उनले जनाए ।

आयोजक क्लबले यस प्रतियोगिता भव्यतापूर्वक सम्पन्न हुने अपेक्षा राखेको छ । उनीहरूको भनाइमा, यस प्रकारका स्थानीयस्तरका खेलले युवामा खेलकुदप्रति आकर्षण बढाउनुका साथै समाजमा एकता, अनुशासन र स्वास्थ्यप्रतिको सचेतना पनि जगाउँछ ।

Share:

सम्बन्धित समाचारहरु