नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध,

तुइनखोला पुलमा खसेको पहिरो हटाउने कार्य जारी

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको तुइनखोला पुल नजिक खसेको ठूलो पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। हिजो साँझ करिब ६:३० बजेदेखि निरन्तर झरिरहेको पहिरोले गर्दा सवारी आवागमन रोकिएको हो।

आज बिहान पनि थप पहिरो खसेपछि सडक खुलाउने कार्य अझै कठिन बनेको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, ढुंगा खस्ने क्रम अझै नरोकिएकाले पहिरो पन्छाउने काममा अवरोध भइरहेको छ। यद्यपि, जोखिम मोलेर पहिरो हटाउने कार्यलाई निरन्तरता दिइएको छ।

हाल घटनास्थलमा तीनवटा लोडर र एक स्काभेटर प्रयोग गरेर दुवै तर्फबाट पहिरो हटाउने प्रयास भइरहेको छ। त्यस्तै, मुग्लिनतर्फबाट थप एक स्काभेटर पनि साइटतर्फ पठाइएको डिभिजन कार्यालयले जनाएको छ।

सडक डिभिजनका अनुसार, यदि थप पहिरो खस्ने क्रम रोकियो भने कम्तीमा चार घण्टामा सडक खुलाउन सकिने सम्भावना रहेको छ। यात्रुहरूलाई सतर्क रहन र वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित निकायले आग्रह गरेको छ। —00–

Share:

सम्बन्धित समाचारहरु