बजेट नहुँदा नारायणगढ–मुग्लिन सडकको भासिएको भाग यस वर्ष मर्मत नहुने

  • सेतोनेपाल संवाददाता

चितवन, १४ जेठ । नारायणगढ–मुग्लिन सडकखण्डको २६ किलोमा गत असोजको अविरल वर्षापछि भासिएको भाग चालु आर्थिक वर्षमा मर्मत नहुने भएको छ। डिभिजन सडक कार्यालय चितवनका अनुसार, सो क्षेत्रमा करिब १६५ मिटर लम्बाइको भागमा सडक भासिएको छ।

कार्यालय प्रमुख नारायण लामिछानेका अनुसार, सडकको ८५ मिटर लम्बाइ र ३.५ मिटर चौडाइको भाग आठ मिटर गहिरो भासिएको छ भने बाँकी भूभाग चिराचिरा परेको छ। “अब जब मर्मत गरिन्छ, सबै चिरिएको र भासिएको भागलाई एकैपटक बनाउनु आवश्यक हुन्छ,” उनले सेतोनेपालसँग भने।

डिजाइन तयार भइसकेको र सडक विभागमा पेश गरिए पनि बहुवर्षे ठेक्काका लागि बजेट विनियोजन समय सकिएकाले काम अघि बढ्न नसकेको हो। अनुमानित लागत करिब ३२ करोड रुपैयाँ रहेको छ। भासिएको भाग मर्मतका लागि १८ देखि २५ मिटरसम्म पायल राख्नुपर्ने प्राविधिक सुझाव रहेको बताइएको छ। हाल थप क्षति रोक्नका लागि ग्यावियन जाली प्रयोग गरेर अस्थायी संरक्षण गरिएको छ।

नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै राजधानी काठमाडौँ र पोखरातर्फ दैनिक १० हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुने भएकाले यस सडकको मर्मत ढिलाइले यात्रु र यातायात व्यवसायीहरूमा चिन्ता बढाएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु