काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा बिहान ८:३० बजे टुँडिखेलस्थित सैनिक मञ्चमा मूल समारोह आयोजना भएको छ। समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ।
तर, अहिलेको विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष झाँकीलगायत भव्य सांस्कृतिक कार्यक्रम स्थगित भएका छन्।
नेपालको संविधान घोषणा भएको एक दशक पूरा भएको अवसरमा यसपटक विशेष उत्सव मनाउने तयारीसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन गरिएको थियो। तर जेन-जी युवा आन्दोलनमा ७४ जनाको ज्यान गएपछि उत्पन्न राजनीतिक उथलपुथलका कारण सामान्य कार्यक्रम गरेर दिवस मनाउने तयारी गरिएको गृह मन्त्रालयले जनाएको छ।
“अघिल्ला वर्षजस्तै यसपटक पनि संविधान दिवसको अवसरमा टुँडिखेलमा कार्यक्रम हुनेछ। तर विगतको जस्तो तामझाम नगरी सामान्य तरिकाले दिवस मनाइने तयारी भएको छ,” गृह मन्त्रालयका एक अधिकारीले बताए। नेपालको संविधान २०७२ असोज ३ गते संविधानसभाबाट पारित भई तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले घोषणा गरेका थिए। दोस्रो संविधानसभाको निर्वाचनपछि गठित सभाले लामो संघर्ष र विवादपछि संविधान जारी गरेको हो।
संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना दिएका छन्।–00—

