प्रहरी महानिरीक्षक दानबहादुर कार्की द्वारा गणेशधाम परिसरको अवलोकन

रेशम सापकोटा
चितवन – भरतपुर महानगरपालिका वडा नम्बर ११ गणेशस्थानमा अवस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक दृष्टिले अत्यन्त महत्वपूर्ण पवित्र स्थल गणेशधाम संरक्षण सम्वर्धन समिति परिसरभित्र रहेको धार्मिक क्षेत्रको प्रहरी महानिरीक्षक श्री दानबहादुर कार्कीले अवलोकन गर्नु भएको छ। अवलोकनका क्रममा उहाँले गणेशधाममा विधिवत् पूजा, टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो।

प्रहरी महानिरीक्षक कार्कीसँगै बागमती प्रदेश प्रहरी कार्यालय, हेटौडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) अरुण पौडेल, राजमार्ग ट्राफिक सुरक्षा तथा व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्ली नारायण पाण्डे, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्दपुरीलगायत अन्य विभिन्न तहका प्रहरी अधिकारी तथा सुरक्षाकर्मीहरूको समेत सहभागिता रहेको थियो।

गणेशधाम परिसरमा प्रवेशका क्रममा प्रहरी महानिरीक्षक कार्की तथा सहभागी प्रहरी अधिकारीहरूलाई गणेशधाम संरक्षण सम्वर्धन समितिका अध्यक्ष दिनेश कुमार चुकेलगायत समितिका पदाधिकारी तथा सदस्यहरूले स्वागत गरेका थिए। सो अवसरमा समितिले गणेशधामको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वबारे जानकारी गराउँदै यसको संरक्षण, सम्वर्धन तथा प्रवर्द्धनमा सरोकारवाला निकायको भूमिकाबारे जानकारी गराइएको थियो।

उच्च प्रहरी नेतृत्वसहित विभिन्न तहका प्रहरी अधिकारीहरूको उपस्थितिले गणेशधामप्रति राज्य संयन्त्रको चासो बढेको स्थानीयवासीको भनाइ छ। गणेशधाम संरक्षण सम्वर्धन समितिका महासचिव सन्तोष पन्तकाअनुसार, प्रहरी महानिरीक्षक स्वयंले गणेशधाम परिसरको अवलोकन गरी पूजा–अर्चना गर्नुले यस ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षण र प्रवर्द्धनप्रति सम्बन्धित निकायको चासो स्पष्ट भएको छ र यस्ता भ्रमणहरूले गणेशधामको पहिचान र महत्वलाई थप स्थापित गर्न सकारात्मक सन्देश दिएको धारणा व्यक्त गर्नुभयो।

 

 

–00–

Share:

सम्बन्धित समाचारहरु