नयाँ बानेश्वरको संसद भवन ध्वस्त, सिंहदरबारमै बस्ने संसद बैठक

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको नयाँ बानेश्वरस्थित संघीय संसद भवन अब प्रयोगमा नआउने भएको छ । अन्तरिम सरकारका मन्त्रीहरुले भवनलाई पुरानै स्वरूपमा पुनर्निर्माण गरिने भए पनि संसद बैठक भने सिंहदरबारमा निर्माणाधीन नयाँ भवनबाट सञ्चालन हुने जानकारी दिएका छन् ।

सोमबार क्षतिग्रस्त भवनको निरिक्षणपछि ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी पुससम्म सिंहदरबारस्थित नयाँ संसद भवनको निर्माण पूरा हुने बताउँदै त्यहींबाट संसदको बैठक सुरु हुने जनाए । “नव–निर्वाचित सांसदहरुले अब सिंहदरबारकै नयाँ भवनबाट काम गर्नेछन्,” मन्त्री घिसिङको भनाइ छ ।

उनका अनुसार बानेश्वरको भवनलाई भने पुरानै स्वरूपमा पुनर्निर्माण गरिनेछ । तत्काल सरसफाइको काम सुरु गरी डिजाइन प्रक्रियामा अघि बढ्ने र छोटो तथा दीर्घकालीन योजनाअन्तर्गत पुनर्निर्माण अघि बढाइने मन्त्रीले बताए ।

घिसिङसँगै अर्थमन्त्री रामेश्वर खनाल, गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पनि भवनको निरिक्षण गरेका थिए । गत भदौ २३ र २४ गते काठमाडौँसहित देशभर भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले संसद भवनमा आगजनी गरेका थिए । आगलागीका कारण भवन पूर्णरूपमा जलेर ध्वस्त भएको छ ।

Share:

सम्बन्धित समाचारहरु