काठमाडौं, असोज १ – लामो समयदेखि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको बिपी राजमार्ग आजदेखि २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ। मनसुनको अन्त्यतर्फ उन्मुख अवस्थामा पुग्दा र चाडपर्व नजिकिँदै गर्दा यात्रा सहज बनाउन यस्तो निर्णय गरिएको हो।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो। यात्रुको सहजता, चाडपर्वको चाप र मनसुनको अवस्थालाई मध्यनजर गर्दै स्वीकृत सडक सुरक्षा कार्ययोजना अनुसार राजमार्ग २४ सै घण्टा सञ्चालन गरिने बताइएको छ।
मनसुनका कारण लगाइएको थियो रोक
गएको असार ७ गतेदेखि बाढीपहिरोको जोखिम उच्च देखिएकाले धुलिखेलदेखि नेपालथोकसम्मको खण्डमा रातको समयमा १२ घण्टासम्म सवारी आवागमनमा पूर्ण प्रतिबन्ध लगाइएको थियो। पछिल्लो पटक भदौ १६ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको थियो।
गम्भीर क्षति पुगेको थियो
- गत वर्ष असोजमा आएको बाढीपहिरोले बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्मको करिब ८ किमी सडक बगाएको थियो।
- राजमार्गको कुल १६० किमीमध्ये,
- तेस्रो खण्ड (सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म) ३४ किमी
- चौथो खण्ड (नेपालथोकदेखि धुलिखेलसम्म) ५० किमीमा विभिन्न स्थानमा क्षति पुर्याइएको थियो।
हाल ठेक्का प्रक्रियामार्फत चार खण्डमा स्थायी पुनर्निर्माणको कार्य अघि बढाइएको छ।
पूर्वी नेपाल जोड्ने महत्त्वपूर्ण मार्ग
बिपी राजमार्ग पूर्वी नेपाललाई काठमाडौं उपत्यकासँग जोड्ने छोटो दूरीको वैकल्पिक रुटको रूपमा प्रयोग हुँदै आएको छ। दैनिक हजारौं सवारीसाधन चल्ने यो मार्ग बन्द हुँदा यात्रु तथा व्यवसायीहरू समस्यामा परेका थिए। अब भने यात्रुहरूलाई रातिको समयमा पनि आवतजावत सहज हुने भएको छ । –000–


