काठमाडौं, असोज १ – स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ मिति तय गरिएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ ले असोज ७ र ८ गते परीक्षा सञ्चालन हुने गरी संशोधित तालिका सार्वजनिक गरेको हो।
यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा ‘जेनजी’ आन्दोलन हिंसात्मक बन्दा सुरक्षाका कारण स्थगित गरिएको थियो।
परीक्षा तालिका विवरण:
- असोज ७ गते (पहिलो दिन):
- अनिवार्य अंग्रेजी (0041) को परीक्षा हुनेछ।
- एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषयको परीक्षा यही दिन हुनेछ।
- दुई विषय दिने परीक्षार्थीका हकमा सानो कोड भएको विषयको परीक्षा हुनेछ।
- अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयको परीक्षा दिनेहरूले पहिलो दिन अंग्रेजी को परीक्षा दिनुपर्नेछ।
- असोज ८ गते (दोश्रो दिन):
- दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि ठूलो कोड भएको विषयको परीक्षा हुनेछ।
- यो दिन अनिवार्य अंग्रेजी को परीक्षा भने हुने छैन।
राष्ट्रिय परीक्षा बोर्डले सम्पूर्ण परीक्षार्थीलाई नयाँ तालिका अनुसार तयारी गर्न आग्रह गरेको छ। —000–


