जितिया पर्वको अवसरमा थारू भाषाको फिल्म ‘लेहरा’ चितवनमा भव्य रूपमा प्रदर्शन

 कारी महताे –
चितवन, ३० भदाै । जितिया पर्वकाे पूर्वसन्ध्यामा हिजाे आइतबारका दिन पूर्वी चितवनकाे म्याङ्गाे जनज्याेति हलमा थारू भाषाकाे फिल्म ‘लेहरा’ काे विशेष प्रदर्शन गरिएकाे छ ।

डियर लव फिल्म्सकाे ब्यानरमा किशाेर चाैधरीकाे लेखन तथा निर्देशन रहेकाे उक्त फिल्म दुई शाे का लागि प्रदर्शन गरिएकाेमा दुवै शाे हाउसफुल भएकाे थियाे ।
माइतलाई थारू भाषामा लेहरा भनिन्छ । बिहेबारी भई गएका चेलीबेटीहरू बेखुशी भएकाे अवस्थामा खुशी खाेज्न जाने ठाउँ नै लेहरा हाे भनेर देखाइएकाे छ ।

फिल्ममा निर्देशक किशोर चौधरी नै फिल्मकाे मुख्य भूमिकामा देखिएका छन् भने अन्य कलाकारहरू सुस्मिता चौधरी, बिका महतो, जितेन्द्र चौधरी, रामप्रीत चौधरी, बिकेस्मा चौधरी, बलराम चौधरी, भुलन चौधरी, बिनिता चौधरी (बालकुमारी चाैधरी), एरिन चौधरी, प्रेम चौधरी, रोजिना चौधरी, जितेन्द्र महतो, महेन्द्र चौधरी, शान्ति चौधरी, अन्जु महतो, अनुसा चौधरी, चुडामणी महतो, बुद्धि महतो, सरस्वती चौधरी लगायतले विभिन्न भूमिका निर्वाह गरेका छन् ।


फिल्म करीब पाँच लाख जतिकाे सानाे बजेटमा निर्माण भएतापनि यसमा केहि आधुनिकता र केही परम्पराका साथै केही हास्य र केही व्यङ्ग्य पनि समावेश छ । केही यथार्थता र केही परिकल्पनाका साथै केही संस्कार-सँस्कृति र केही पाैराणिकता झल्किएकाे छ ।

केही एक्सन र केही राेमान्सका साथै केही मिठास र केही तिक्तता लगायतका विभिन्न परिवेशकाे सङ्गमकाे रूपमा निकै कलात्मक तरिकाले तयार पारिएकाे फिल्मले दर्शकहरूलाई दुई घण्टा ३५ मिनेटसम्म भरपुर मनाेरञ्जन दिने खालकाे बनेकाे छ ।

फिल्ममा केही सशक्त पक्ष र केही सुधार गर्नुपर्ने पक्ष पनि देखिन्छ । तर सुधार गर्नुपर्ने पक्ष केलाउन र टिप्पणी गर्नका लागि भने दर्शकहरूले पुरै फिल्म हेर्नुपर्ने हुन्छ ।

धेरै वर्षपछि सिनेमा हलमा प्रवेश गरेका दर्शकहरू आफ्नै गाउँघर वरपरकाे दृष्य समेटेकाे, आफ्नै घरमा बाेलिने भाषामा बनेकाे र आफ्नै समुदायका परिचित कलाकारहरूकाे प्रस्तुति समेटिएकाे फिल्म ‘लेहरा’ हेरेपछि निकै सन्तुष्ट रहेकाे बताए ।

मातृभाषा र सँस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि फिल्म नै सबैभन्दा सशक्त माध्यम भएकाेले यसखालकाे फिल्म नियमित रूपमा निर्माण हुन आवश्यक रहेकाे छ ।

फिल्मकाे च्यारिटीबाटै लगानी असुलउपर गरी प्रशस्त मुनाफा पनि कमाउन सकिने सम्भाव्यता भएकाेले लगानीकर्ताले मातृभाषा फिल्ममा निर्धक्क लगानी गर्दा केही फरक पर्दैन । –00–

Share:

सम्बन्धित समाचारहरु