काठमाडौं । नयाँ सरकार गठनको तयारीसँगै भावी प्रधानमन्त्रीको कार्यकक्ष व्यवस्थापन सुरु भएको छ ।
जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगलागीबाट जलेर ध्वस्त भएपछि नयाँ कार्यकक्षको व्यवस्था गर्न लागिएको हो ।
हालका लागि सिंहदरबार परिसरमै निर्माणको अन्तिम चरणमा पुगेको नयाँ गृह मन्त्रालय भवनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका रूपमा प्रयोग गर्ने तयारी गरिएको छ । त्यसका लागि आवश्यक सामान सार्ने काम र सरसफाइ भइरहेको छ ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको मुख्य भवनमा थियो । तर आन्दोलनका क्रममा भएको आगजनीपछि त्यहाँको भवन पूर्ण रूपमा जलेर प्रयोग अयोग्य बनेपछि नयाँ भवन रोजिएको हो । –00–


