काठमाडौं, भदौ २२ – सरकारले हालै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै राजधानीमा नयाँ पुस्ता, विशेषगरी Gen Z ले ‘नेपो बेबी अभियान’को नेतृत्वमा सडक आन्दोलनको घोषणा गरेका छन्।
‘दी फाइनल रिभोलुसन – वी आर पञ्चिङ अप’ भन्ने नारासहित युवाहरूले सोमबार बिहान ८ बजेदेखि माइतीघर मण्डला र संसद भवन अगाडि प्रदर्शन गर्ने तयारी गरेका हुन्। आन्दोलनको नेतृत्व कसले गर्ने भन्ने स्पष्ट नभए पनि यसको उद्देश्य भने सत्ता र नेताहरूको मनोमानीविरुद्ध प्रतिरोध गर्ने भएको बताइएको छ।
विदेशबाट सुरु, नेपालमा फैलिएको ट्रेन्ड
यो अभियान फिलिपिन्स र इन्डोनेसियाबाट सुरु भएको थियो। टिकटकमार्फत नेपालमा फैलिएको यस ट्रेन्डमा नेताका छोराछोरीले प्रयोग गर्ने महँगा ब्रान्डका कपडा, विदेश भ्रमण र विलासी जीवनशैलीलाई साधारण युवाको संघर्षसँग तुलना गरिएको छ। यसैलाई ‘नेपो बेबी’ अभियान नाम दिइएको छ।
आक्रोश बढाउँदै भिडियो
सोसल मिडियामा भाइरल भएका भिडियोहरूले राजनीतिक परिवार र सर्वसाधारणबीचको गहिरो असमानता देखाइदिएका छन्। युवाहरूले फेसबुक र अन्य प्रतिबन्धित प्लेटफर्मसमेत भिपिएन प्रयोग गरेर आफ्ना सन्देश सार्वजनिक गरिरहेका छन्।
बालेन शाहको समर्थन
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ले यस आन्दोलनलाई खुलेर समर्थन जनाएका छन्।
उनले आफ्नो फेसबुक पेजमा लेख्दै भनेका छन् –
“भोलिको र्याली स्पष्ट स्वतःस्फूर्त रुपमा Gen Z को हो, जसको लागि म पनि अझै बुढो देखिन्छु। उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु जरुरी छ। भोलि कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद वा अभियन्ताले स्वार्थ पूरा गर्न नआउनु होला। म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर मेरो भरपूर समर्थन छ। प्रिय Gen Z भन्नुस् तपाईंहरूले कस्तो देश देख्न चाहनुहुन्छ?”
नेताहरूका प्रतिक्रिया
सत्तारुढ दल नेकपा एमालेका सांसद तथा पूर्व सूचना–प्रविधि मन्त्री गोकुल बाँस्कोटा ले सामाजिक सञ्जाल बन्दलाई समयसापेक्ष कानुनको अभावको परिणाम भनेका छन्। उनले सरकारले नर्थ कोरियाजस्तो नियमन गर्ने प्रयास नगर्न चेतावनी दिएका छन्।
त्यस्तै एमाले नेता महेश बस्नेत ले भने Gen Z आन्दोलनलाई “स्वतन्त्र वा रचनात्मक नभई पुनरुत्थानवादी र अराजकतावादी प्रवृत्ति” भएको टिप्पणी गरेका छन्। उनका अनुसार युवाहरूको अभियानले राज्य, राजनीतिक दल र नेतामाथि बदनाम अभियान सञ्चालन गरिरहेको छ।
विश्लेषकहरूको भनाइ
राजनीतिक विश्लेषकहरूले भने विश्वभर सामाजिक सञ्जालमार्फत ठूला आन्दोलनहरू सफल भएका उदाहरणलाई स्मरण गर्दै नेपालमा पनि युवाहरूको असन्तुष्टि डामाडोल राजनीतिक परिदृश्यमा निर्णायक बन्नसक्ने बताएका छन्। बालेन, रवि, हर्कजस्ता नेताहरूको उदय पनि सामाजिक सञ्जालको प्रभावबाट भएको भन्दै यसपटक सरकारले बन्द गर्ने निर्णय लिनु पछाडि आगामी चुनावी प्रभावप्रतिको त्रास रहेको उनीहरूको टिप्पणी छ।
प्रश्नहरू उठ्दै
युवाहरूको प्रश्न हो – फेसबुक, युट्युबजस्ता प्लेटफर्म बन्द गर्दा आम नागरिकलाई मात्र असर गर्ने कि सरकारका शीर्षस्थ नेता, मन्त्री र सत्तारूढ दलका सदस्यहरूलाई पनि उस्तै लागू हुन्छ? किनकि प्रधानमन्त्रीदेखि मन्त्रीसम्म अहिले पनि फेसबुकमार्फत आफ्ना धारणा सार्वजनिक गरिरहेका छन्।
निष्कर्ष –
भदौ २३ गते माइतीघर मण्डलामा हुने भनिएको Gen Z आन्दोलन को परिणाम के हुन्छ, यसले कस्तो राजनीतिक प्रभाव पार्छ भन्नेप्रति अहिले सबैको ध्यान केन्द्रित भएको छ।


