प्रदेश १, मधेश र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं , असार २

आज बिहान प्रदेश १ र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यस्तै प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको विभागले जनाएको छ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

यस्तै आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागहरुमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/ यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन भनेको छ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु