काठमाडौं । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय गराएको चार दिन बितिसक्दा पनि ठूला कम्पनीहरूले खासै चासो देखाएका छैनन् ।
सञ्चार मन्त्रालय स्रोतका अनुसार अहिलेसम्म लिंक्डइन, टेलिग्राम र स्न्यापच्याटले मात्रै औपचारिक चासो देखाएका छन् । तर, फेसबुक सञ्चालक कम्पनी मेटा, युट्युब लगायतका अन्य प्रमुख सामाजिक सञ्जालले कुनै औपचारिक पहल नगरेको मन्त्रालयको भनाइ छ ।
यसअघि मेटाले नेपालमा सूचीकरणका लागि चासो देखाएको जानकारी सार्वजनिक भए पनि मन्त्रालयका अनुसार त्यो औपचारिक थिएन । मन्त्रालय स्रोतका भनाइमा, “मेटाको नाममा आएको इमेल वास्तवमा कम्पनीकै एक कर्मचारीको थियो । आधिकारिक निर्णयका रूपमा लिन सकिँदैन ।”
मन्त्रालयका एक अधिकारीका अनुसार, निष्क्रिय गराउनुअघि मेटाका प्रतिनिधि नेपाल आएर सूचीकरणमा चासो देखाएका थिए । तर फर्किएपछि भने ‘नेपालको प्रक्रिया झन्झटिलो भएको कारण सूचीकरण सम्भव छैन’ भन्ने आधिकारिक जानकारी दिइएको थियो ।
“हामीले पहिले पनि मेटालाई आग्रह गरेका थियौँ,” मन्त्रालयका एक अधिकारीले भने, “उनीहरू यहाँ हुँदा चासो देखाए पनि सिंगापुर पुगेपछि प्रक्रिया गाह्रो भएको भन्दै पछि हटे ।”
त्यस्तै, युट्युबले पनि अहिलेसम्म कुनै चासो नदेखाएको मन्त्रालयले जनाएको छ । –00–

