२०८२ सालको पहिलो चन्द्रग्रहण : भदौ २२ गते राति साढे तीन घण्टा देखिने

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाको दिन, आइतबार (भदौ २२ गते) नेपालमा खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहण राति १० बजेर ११ मिनेटमा सुरु हुनेछ । मध्य ग्रहण राति ११ बजेर ५६ मिनेटमा पर्नेछ भने ०१ बजेर ४१ मिनेटमा सकिनेछ । यसरी करिब साढे तीन घण्टा काठमाडौंसहित नेपालबाट यो ग्रहण देखिनेछ ।

समितिका पूर्वअध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार, यो २०८२ सालको पहिलो चन्द्रग्रहण हो । यस्तै, आगामी फाल्गुन शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण पनि लाग्नेछ ।

शास्त्रीय परम्पराअनुसार ग्रहणको दिन भोजनमा विशेष नियम लागू हुन्छ । आइतबार दिउँसो १ बजेर ११ मिनेटपछि बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेक अरूले भोजन गर्नु नहुने मान्यता छ । सामान्यतया चन्द्रग्रहण पूर्णिमा तिथिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ । –00–

Share:

सम्बन्धित समाचारहरु