चितवन, भदौ २० । चितवनको इच्छाकामना गाउँपालिका–२ मायाटारमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । लामो समयदेखि स्थानीयवासीले प्रहरी चौकीको माग गर्दै आएका थिए । उक्त मागलाई मध्यनजर गर्दै शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन, व्यापार व्यवसायलाई सुरक्षित गर्न तथा पर्यटकीय स्थलहरूको संरक्षणका लागि अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो ।
अस्थायी प्रहरी चौकी मायाटारको कार्यालय भवनको उद्घाटन आइतबार (२०८२ भदौ २० गते) विशेष कार्यक्रमका बीच सम्पन्न भएको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङ र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोबिन्द पुरी रहेका थिए ।
उद्घाटन कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, समाजसेवी, टोल सुधार समितिका पदाधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, आमा समूहका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो ।
अस्थायी प्रहरी चौकी मायाटार प्रहरी सहायक निरीक्षकको कमानमा सञ्चालन हुनेछ भने प्रारम्भिक चरणमा ५ जना प्रहरी कर्मचारी खटाइएका छन् ।



—00–


