इजरायली आक्रमणमा यमनका हुथी विद्रोहीका प्रधानमन्त्री अल–रहावीको मृत्यु !

इरान समर्थित उक्त समूहले बिहीबार यमनको राजधानी सानालाई इजरायल रक्षा बल (आईडीएफ)ले निसाना बनाउँदा अरू धेरै वरिष्ठ अधिकारी पनि मारिएका जनाएको छ । आईडीएफले इजरायली लडाकु विमानले साना क्षेत्रमा एक भेलामा आक्रमण गर्दा राहावी र अरू वरिष्ठ हुथी अधिकारीको अन्त्य गरिएको जनाएको छ ।

हुथी विद्रोहीले सन् २०१४ देखि उत्तर–पश्चिमी यमनको ठूलो भागमाथि नियन्त्रण जमाउँदै आएका छन् । त्यसक्रममा उनीहरूले सानाबाट अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई हटाएका थिए । त्यसपछि विनाशकारी गृहयुद्ध सुरु भएको थियो ।

गाजामा युद्ध सुरु भएयता आफूहरूले व्यहोरेको यो सबैभन्दा ठूलो क्षति भएको पनि हुथी विद्रोहीले बताएका बीबीसीले जनाएको छ ।

इजरायलसँगको युद्धमा कुनै पनि वरिष्ठ अधिकारीको मृत्यु भएको यो पहिलो घटना हो । रोयटर्स समाचार एजेन्सीले हुथी विद्रोहीको समाचार एजेन्सीलाई उद्धृत गर्दै समूहको सुप्रिम पोलिटिकल काउन्सिलका प्रमुख मेहदी अल–मशातले शनिबार यो घोषणा गरेका जनाएको छ ।

बिहीबार राजधानी सानामा गरिएको उक्त आक्रमणबारे विस्तृत जानकारी दिइएको छैन । तर, अरू धेरै व्यक्तिहरू घाइते भएका जनाइएको छ ।

एएफपी समाचार एजेन्सीका अनुसार, अल–रहावीलाई पछिल्लोपटक बुधबार सानामा एक सार्वजनिक कार्यक्रममा देखिएको थियो ।

हुथी विद्रोहीले जारी गरेको वक्तव्यमा भनिएको छ, “हामी अहमद गालिब नासिर अल–रहावीको निधनको घोषणा गर्दछौँ । उनी आफ्ना धेरै सहकर्मीसँगै मारिएका छन् । उनीहरूलाई इजरायलले निसाना बनाएको थियो ।”

आक्रमणमा घाइते भएका धेरै सहकर्मीको उपचार अस्पतालमा भइरहेको वक्तव्यमा भनिएको छ ।

इजरायलले यसअघि सानामा इरान समर्थित हुथी समूहका चिफ अफ स्टाफ, रक्षामन्त्री र अरू अधिकारीलाई निसाना बनाइएको र त्यसको परिणामबारे अनुसन्धान भइरहेको जनाएको थियो ।

अहमद अल–रहावी करिब एक वर्षअघि प्रधानमन्त्री बनेका थिए । तर, सरकारको बागडोर उनका उपप्रधानमन्त्री मोहम्मद मुफ्ताहको हातमा थियो । शनिबार मुफ्ताहलाई प्रधानमन्त्रीको कार्यभार सुम्पिइएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु