थारू पत्रकार संघ चितवनको पाँचौं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा मनोज चौधरी चयन

चितवन, माडी — थारू पत्रकार संघ, चितवनको पाँचौं जिल्ला अधिवेशन शनिबार माडी रिसोर्टमा सम्पन्न भएको छ। अधिवेशनले मनोज चौधरीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

नयाँ कार्यसमितिमा दीपेन्द्र चौधरी उपाध्यक्ष, राकेश चौधरी सचिव, विन्दा चौधरी सह-सचिव, प्रमिला चौधरी कोषाध्यक्ष, तथा सुरेश कुमार चौधरी र रविन्द्र राउत सदस्यमा चयन भएका छन्।

अधिवेशनको उद्घाटन माडी नगरपालिकाका मेयर ताराकाजी महतोले गरेका थिए। उनले उद्घाटन मन्तव्यका क्रममा थारू समुदायको सामाजिक र राजनीतिक सहभागिता न्यून रहनु चिन्ताको विषय भएको बताए। “हामी स्वभावले नै कम बोल्ने, फूलबुट्टा हालेर बोल्न नजान्ने भएकाले राजनीति र सामाजिक क्षेत्रमा थारूहरूको उपस्थिति कमजोर देखिएको छ,” उनले भने।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख महतोले माडी नगरपालिकाले विधि र प्रक्रियाअनुसार काम गर्दै ८० प्रतिशत प्रगति हासिल गर्न सफल भएको र कार्यकालको बेरुजु समेत कम भएको जानकारी दिए। साथै उनले थारू समुदायमाथि गरिने पूर्वाग्रही व्यवहारप्रति पनि टिप्पणी गर्दै सत्य कुरा बोल्ने थारूहरूको गुणलाई कमजोरीका रूपमा देखाउने प्रयास भइरहेको बताए।

थारू पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तकुमार चौधरीले पत्रकारिता क्षेत्रमा थारू समुदायको उपस्थिति अत्यन्त न्यून रहेको भन्दै चिन्ता व्यक्त गरे। उनले समुदायका युवाहरू पत्रकारिता पेशातर्फ आकर्षित नभएको र धेरैजसो पलायन भइरहेका कारण यो पेशामा टिकाउन कठिनाइ भइरहेको बताए। साथै, थारू समुदायको सञ्चारमाध्यममा लगानी नभएकोले पनि सहभागिता कम देखिएको उनले उल्लेख गरे।

कार्यक्रममा थारू कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरीले पत्रकारिता थारू समुदायको कला, संस्कृति, चाडपर्व, रहनसहन प्रचारप्रसारको माध्यम भएको बताउँदै यस पेशाप्रति नयाँ पुस्ताको कम रुचि चिन्ताजनक भएको बताए।

सो अवसरमा पत्रकारिता मार्फत थारू समुदायको संस्कृति संरक्षणमा योगदान पुर्‍याएको भन्दै कान्तिपुर टेलिभिजन चितवनका संवाददाता तथा नारायणी अनलाइनका प्रधान सम्पादक राजु चौधरीलाई सम्मान गरिएको थियो।

कार्यक्रममा नगर उपप्रमुख खेम महतो, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषाल, थारू कल्याणकारिणी सभा केन्द्रीय सदस्य तथा ओएसिस पत्रकारिता पुरस्कारका अक्षयकोष दाता मनोज चौधरी, केन्द्रीय पार्षद चन्द्राकुमारी चौधरी, होटल हैप्पी होमका सञ्चालक कृष्ण महतो, फोनिज चितवन अध्यक्ष तुलमान गुरुङ, प्याराडाइज युवा क्लब अध्यक्ष शरदकुमार महतो, क्षेत्र नं. १ माडीका सभापति सुक्रमिया चौधरीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा माडीका स्थानीय थारू दिदीबहिनीहरूले झमट र लाठी नाचजस्ता जातीय सांस्कृतिक प्रस्तुति समेत दिएका थिए। कार्यक्रम थारू पत्रकार संघ चितवनका निवर्तमान अध्यक्ष दीपेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो।

–00–

 

Share:

सम्बन्धित समाचारहरु