चितवन (कालिका–९), भदौ । ४६ वर्षअघि स्थापना भएको कालिका नगरपालिकाको जुटपानी प्रहरी चौकी अब इलाका प्रहरी कार्यालयमा स्तरवृद्धि हुने भएको छ।
शान्ति–सुरक्षाको आवश्यकता र स्थानीयको मागअनुसार कालिका नगरपालिकाको पहलमा सो चौकीलाई इलाका प्रहरी कार्यालयमा स्तरवृद्धि गर्ने प्रक्रिया अघि बढाइएको हो। अबदेखि प्रस्तावित इलाका प्रहरी कार्यालयको जिम्मेवारी प्रहरी निरीक्षक स्तरका अधिकृतले निर्वाह गर्नेछन्।
यसैक्रममा आजदेखि प्रहरी निरीक्षक मनिष श्रेष्ठले जिम्मेवारी सम्हालेका छन्। श्रेष्ठलाई नगर प्रमुख विनोद रेग्मी, चितवनका प्रहरी प्रमुख गोविन्द पुरी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थितिमा एक समारोहका बीच पदस्थापन गरिएको हो।
इलाका प्रहरी कार्यालयका लागि आवश्यक मापदण्ड पूरा गर्ने प्रक्रिया सुरु भइसकेको र यसले कालिका क्षेत्रमा शान्ति–सुरक्षा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। 



–00—


