रौतहट। रौतहटको गौर नगरपालिका–९ गौर सिर्सिया सडक खण्डअन्तर्गत मुडवालवा मोडमा सुटकेशभित्र फेला परेको महिलाको शवको पहिचान भएको छ। मृतक ३५ वर्षीया रुबिकुमारी साह रहेको प्रहरीले जनाएको छ।
शनिबार राति करिब ८ बजेतिर सडक किनारमा बेवारिस अवस्थामा देखिएको सुटकेशलाई स्थानीयले शंका लागेर प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरीले सुटकेशभित्र शव रहेको पत्ता लगाएको थियो।
आइतबार बिहान सुटकेश खोल्दा गुलाबी रंगको कुर्तासुरुवाल लगाएकी महिलाको शव भेटिएको थियो। टाउकोमा गहिरो चोट देखिएको र उनको हत्या गरिएको आशंका गरिएको छ।
भारतको मुजफ्फरपुरमा विवाह गरी गएकी उनी आफ्ना बच्चालाई पढाउन गौरमा डेरा लिएर बसेकी थिइन्। दुई दिनदेखि उनी बेपत्ता भएपछि आमाले प्रहरीमा खोजीका लागि निवेदन दिएकी थिइन्। उनका पति भारतमै बस्ने बुझिएको छ।
सुटकेशमा केही कागजात र सुरुवालको खल्तीमा नगद रकम समेत फेला परेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको नायब प्रहरी उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन्। –00—


