हंस सहकारीद्वारा दन्त स्वास्थ्य सचेतना तथा तीज विशेष कार्यक्रम सम्पन्न

चितवन, भाद्र ६ – हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बिहीबार भरतपुरस्थित पुल्चोकको होटल गंगोत्रीमा मुख तथा दाँत स्वास्थ्य सचेतनामूलक कार्यक्रमसँगै तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ। सहकारीको महिला परिचालन उपसमिताको संयोजनमा र नेपाल अर्बुद रोग निवारण संस्था चितवन शाखाको प्राविधिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा सञ्चालक, कर्मचारी तथा महिला सदस्यहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता महिला परिचालन उपसमिताकी संयोजक तथा सहकारी सञ्चालक अनिता मैनालीले गरिन्। प्रमुख अतिथि बागमती प्रदेश सरकारका सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बिनु रायमाझी थिइन्। मन्त्री रायमाझीले सहकारी संस्थाहरू केवल आर्थिक कारोबारमा सीमित नभई स्वास्थ्य, शिक्षा र सामाजिक रुपान्तरणमा समेत योगदान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । साथै, सहकारीकी सेयर सदस्यसमेत रहेकी र हालै मन्त्री पदमा नियुक्त भएकी रायमाझीलाई महिलामैत्री कार्यक्रमप्रति देखाएको चासोलाई मूल्याङ्कन गर्दै आयोजकले बधाई तथा सम्मान गरेको थियो।

विशिष्ट अतिथि हंस सहकारीका अध्यक्ष दिनेश कुमार चुकेले स्वास्थ्य, सीप र सामाजिक चेतनासँग जोडिएका गतिविधिलाई निरन्तरता दिई सहकारीलाई अझ सदस्यमैत्री बनाइने बताउनु भयो । अर्का विशिष्ट अतिथि तथा नेपाल अर्बुद रोग निवारण संस्था चितवन शाखाका सभापति तथा हंस सहकारीका लेखा समितिका संयोजक गोबिन्द प्रसाद पौडेलले क्यान्सर रोकथाम, मुख र दन्त स्वास्थ्यजस्ता क्षेत्रमा सहकारीसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।

त्यस्तै, सहकारीका उपाध्यक्ष बाबुराम अधिकारीले महिलामैत्री कार्यक्रमलाई अझ सशक्त बनाउन सबैको सहकार्य आवश्यक रहेको मन्तव्य राख्नु व्यक्त गर्नु भयो । पूर्व महिला उपसमिति सदस्य लक्ष्मी लामिछानेले महिलाको नेतृत्व र सक्रियताले मात्र सहकारीलाई दिगो बनाउन सक्ने विचार राख्नु भयो, भने अर्की पूर्व सदस्य लक्ष्मी पौडेलले महिलामुखी गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा स्वास्थ्य प्रशिक्षकका रूपमा कान्तिपुर डेन्टल अस्पताल एण्ड रिसर्च सेन्टर, काठमाडौंकी डा. अस्मी पौडेलले मुख तथा दाँतको स्वास्थ्यसम्बन्धी व्यावहारिक प्रशिक्षण दिँदै नियमित परीक्षण, दन्त सफाइ र खानपानमा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिनुभयो ।–00–

Share:

सम्बन्धित समाचारहरु