अटोमोबाइल्स एसोसिएसन र सहकारीको संयुक्त तीज कार्यक्रम

रेशम सापकोटा – सेतो नेपाल – 
चितवन, २ भदौ। हरितालिका तीजको पावन अवसरमा चितवन अटोमोबाइल्स एसोसिएसन र अटोमोबाइल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संयुक्त रूपमा आयोजना गरेको तीज विशेष शुभकामना आदानप्रदान तथा दरखानी कार्यक्रम भरतपुर–११ स्थित मलेवा पार्टी प्यालेसको सभाहालमा भव्यताका साथ सम्पन्न भएको छ।

 

कार्यक्रमको सभाध्यक्ष चितवन अटोमोबाइल्स एसोसिएसन महिला सशक्तिकरण उपसमितिकी संयोजक रमादेवी चापागाईं न्यौपाने रहनुभएको थियो।

कार्यक्रमको औपचारिक उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय लोकदोहोरी गायिका सरिता गुरुङ श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।

उहाँले मौलिकता हराउँदै गएको आजको परिवेशमा तीज जस्ता पर्वलाई मौलिकता जोगाउँदै, भड्किलोपनभन्दा टाढा राख्नुपर्नेमा जोड दिनुभयो। आफू सधैं मौलिकतामै रमाउने भएको बताउँदै, जहाँ बोलाइए पनि मौलिकता जोगाउने वातावरण बनाउन आग्रह गर्नुभयो।

कार्यक्रममा अटोमोबाइल्स बचत ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद काफ्ले, चितवन अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष कुलबहादुर क्षेत्री, सहकारीका संस्थापक अध्यक्ष भीमलाल न्युरे, लेखा सुपरिवेक्षण समिति संयोजक ज्ञानु प्रसाद न्यौपाने, चितवन अटोमोबाइल्स सङ्घका निवर्तमान अध्यक्ष र सहकारी संस्थाका पूर्व अध्यक्षहरूलगायतको समेत विशेष उपस्थिति रहेको थियो।

स्वागत मन्तव्य महिला सशक्तिकरण उपसमितिकी सदस्य अस्मिता थपलियाले गर्नुभएको थियो। शुभकामना मन्तव्य क्रममा महिला सशक्तिकरण उपसमितिकी सदस्य सीता रेग्मी काफ्ले, सहकारीका अध्यक्ष कृष्णप्रसाद काफ्ले तथा चितवन अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष कुलबहादुर क्षेत्रीले आ–आफ्ना धारणा राख्नुभएको थियो। यस क्रममा प्रमुख अतिथिलाई सभाध्यक्षसहित अन्य सम्मानित अतिथिहरूले संयुक्त रूपमा मायाको चिनो प्रदान गर्नुभएको थियो।

औपचारिक कार्यक्रम समापनपछि वातावरण झन् रमाइलो र उत्साहपूर्ण बनेको थियो। प्रमुख अतिथि सरिता गुरुङ श्रेष्ठले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै सभाहालमा उपस्थित महिला दिदीबहिनीहरूलाई समेत गीतमा सामेल गराउनुभयो।

उहाँको स्वरमा तीजको मौलिक लय घन्किँदा दिदीबहिनीहरू हातमा हात समाएर, सारीमा सजिँदै एक आपसमा नाच्दै रमाएका थिए। सहभागीहरूले उहाँसँगै स्वर मिलाउँदै, ताली बजाउँदै, तालमा ताल मिलाएर नाच्दा सभाहाल पूरै उल्लासमय बनेको थियो। दाजुभाइहरू समेत हौसिँदै दिदीबहिनीहरूसँगै रमाउन थालेपछि कार्यक्रम साँच्चिकै तीजकै रंगमा रंगिएको झल्किएको थियो।

सहभागी दाजुभाइ तथा दिदीबहिनीहरूको यस्तो उत्साहपूर्ण सहभागिताले दरखानी मात्र नभई तीजको सांस्कृतिक उत्सवलाई जीवन्त बनाएर सम्पूर्ण वातावरणलाई हर्षोल्लासमय बनाएको थियो। –00–

Share:

सम्बन्धित समाचारहरु