रेशम सापकोटा – सेतो नेपाल
चितवन, १२ भदौ -पपुलर जागरण प्रा. लि. को आयोजनामा भरतपुर–चितवनको नारायणी नदी किनार क्षेत्रमा आज संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बृहत् सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
धार्मिक हिसाबले समेत अत्यन्त महत्वपूर्ण मानिएको नारायणी नदी किनारमा सरसफाई अभियान सञ्चालन गरी वातावरण संरक्षण, प्राकृतिक सम्पदाको संरक्षण तथा समाजमा सरसफाईको महत्वबारे सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ।
संस्थाका अध्यक्ष शुलभ सिग्देलले नारायणी नदी धार्मिक स्थल संगै समाजको साझा सम्पदा भएकाले यसको संरक्षण र सरसफाई सबैको कर्तव्य भएको बताए। उनले यो अभियानमार्फत “सफा शहर, स्वस्थ जीवन” भन्ने संदेशलाई जनचेतनामा रूपान्तरण गर्ने प्रयास गरिएको जानकारी दिए।
सिग्देलका अनुसार पपुलर जागरण प्रा. लि. सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक र सामुदायिक कामहरू गर्दै आएको छ। उनले सरसफाई अभियानलाई सफल बनाउन सक्रिय सहभागिता जनाउने सबैप्रति आभार प्रकट गर्दै यस्तो अभियान निरन्तर अघि बढाइने प्रतिबद्धता जनाए।–00–


