एमालेको दोस्रो विधान महाधिवेशनमा २,३९२ सहभागी हुने

काठमाण्डौं,१ भदौं ।  नेकपा एमालेले भदौ २० देखि २२ गतेसम्म आयोजना गर्न लागेको दोस्रो विधान महाधिवेशनमा २,३९२ जना सहभागी हुने भएका छन् ।

पार्टी संगठन विभागले व्यवस्थापन समितिमा प्रस्तुत गरेको प्रतिवेदनअनुसार सहभागीमध्ये २,१२८ जना प्रतिनिधि र २६४ जना आयोजक हुनेछन् । २०७८ मा चितवनमा सम्पन्न १०औँ महाधिवेशनका प्रतिनिधिहरूमात्र यसपटक विधान महाधिवेशनका प्रतिनिधि हुने भएकाले केही केन्द्रीय सदस्य आयोजकको भूमिकामा रहनेछन् ।

प्रतिनिधिहरूलाई डिजिटल कार्डको व्यवस्था गरिने र कुनै शुल्क नलिइने एमालेले जनाएको छ । आवासको व्यवस्था भने प्रतिनिधिले आफैं गर्नुपर्नेछ ।

महाधिवेशनलाई भव्य बनाउन सातदोबाटोदेखि गोदावरीस्थित सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागतद्वार निर्माण गरिने भएको छ । कम्तीमा ३०० स्वयंसेवक परिचालन गर्ने तयारी पनि गरिएको छ । स्वयंसेवकको जिम्मा युवा संघ, खेलकुद महासंघलगायत जनसंगठनले लिएका छन् ।

सञ्चार माध्यमका लागि न्युज डेस्क र मिडिया पासको व्यवस्था गरिनेछ भने स्थलमै तीन सिफ्टमा चिकित्सकसहितको स्वास्थ्य डेस्क राखिनेछ । सार्वजनिक यातायातको व्यवस्था विभिन्न कमिटीले गर्नेछन् । महाधिवेशनमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

महाधिवेशनको मूल नारा तय गर्ने प्रक्रिया जारी छ भने तयारीलाई चाँडो बनाउन एमालेले ‘काउन्ट–डाउन’ सुरु गरेको छ । —00—

Share:

सम्बन्धित समाचारहरु