काठमाण्डौं,३१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देहीबाट काठमाडौं स्थानान्तरण गरिएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका उनलाई आज कारागार व्यवस्थापन विभागको निर्णयअनुसार ललितपुरको नख्खु कारागार सारिएको हो । लामिछानेलाई बुद्ध एयरको विमानमार्फत भैरहवाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिने भएको छ ।
विमानस्थलमा उनका समर्थक तथा रास्वपा नेताहरू बाक्लो संख्यामा पुगेका छन् भने सुरक्षा व्यवस्था कडा बनाइएको छ । त्यसैगरी नख्खु कारागार अगाडि पनि समर्थकहरूको उपस्थिति देखिएको छ । यता, भैरहवा कारागार बाहिर पनि उनलाई कारागार स्थानान्तरण गर्नुअघि रास्वपा कार्यकर्ताहरूको भीड लागेको थियो ।
लामिछानेले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए । अदालतले जेठ १६ गते नै सरुवाको अनुमति दिएको थियो । तर प्रक्रिया ढिला भएकाले आज मात्र उनलाई नख्खु कारागार ल्याइएको हो ।–00–


