प्रधानमन्त्री ओली भदौ दोस्रो साता चीन भ्रमणमा, मोदी र सी जिनपिङसँग भेट हुने

काठमाण्डौं, २९ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीनको भ्रमणमा जाने भएका छन् । उनले चीनको सांघाइमा आयोजना हुने विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरूको शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएको हो ।

सोही सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनेछन् । सम्मेलनकै अवसरमा प्रधानमन्त्री ओलीको चीनका राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने भएको छ ।

भदौ दोस्रो साता सम्पन्न हुने उक्त सम्मेलनबाट फर्किएलगत्तै प्रधानमन्त्री ओलीले भारतको औपचारिक भ्रमण गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

शिखर सम्मेलन आगामी अगस्ट ३१ र सेप्टेम्बर १ तारिखमा चीनको तियानजिन शहरमा हुने कार्यक्रम तय भएको छ । यसअघि सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलको सहभागिताबारे छलफल भए पनि अन्ततः प्रधानमन्त्री ओली जाने सहमति भएको हो ।

प्रधानमन्त्री ओलीले गत वर्ष प्रधानमन्त्री बनेपछि पहिलो वैदेशिक भ्रमण चीनबाटै गरेका थिए । एक वर्षको अन्तरालमा यो उनको दोस्रो चीन भ्रमण हो । अहिलेको विश्व परिवेश दुई ध्रुवमा विभाजित भइरहेका सन्दर्भमा चीनको यो सम्मेलनलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु