रेशम सापकोटा – सेतो नेपाल-
चितवन,२६ साउन – माडी नगरपालिका–२, भैरवपुरमा भएको गैंडा मृत्यु प्रकरणमा पक्राउ परेका कृषक हरिभक्त श्रेष्ठको रिहाइ र निकुञ्ज क्षेत्रमा सोलार फेन्स मर्मतका लागि माडीका उच्चस्तरीय प्रतिनिधिमण्डलले सोमबार चितवन राष्ट्रिय निकुञ्ज मुख्यालय कसरामा वार्डेन डा. गणेश पन्तसँग भेटवार्ता गरेको छ।
प्रतिनिधिमण्डलमा प्रदेश सांसद ठाकुर प्रसाद ढकाल, नगरप्रमुख ताराकुमारी काजी महतो, उपमेयर खेमप्रसाद महतो, मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, माडीका चारवटै मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू समावेश थिए।
भेटमा टोलीले कृषक हरिभक्त श्रेष्ठको बिना शर्त रिहाइ र निकुञ्ज वरिपरि सोलार फेन्स मर्मत वा नयाँ जडान गरी वन्यजन्तुको क्षति रोक्नुपर्ने माग राखेको थियो।
वार्डेन डा. पन्तले मुद्दा प्रक्रियामा सहजीकरण गर्ने र सोलार फेन्स मर्मत कार्य सम्पन्न गर्ने आश्वासन दिएका छन्। भेटमा भएका यी सबै कुराहरू प्रतिनिधिमण्डलका सदस्य श्रीप्रसाद द्वारीले अनलाइन पोर्टललाई जानकारी दिनुभएको छ। गत श्रावण २१ गते माडी–२, भैरवपुरस्थित धानखेतमा करेन्ट लागेको तारबारमा एक भाले गैंडाको मृत्यु भएको थियो। घटनापछि निकुञ्ज प्रशासनले कृषक श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ।
यस घटनाले माडीमा राजनीतिक र सामाजिक हलचल सिर्जना गरेको छ। स्थानीयवासीहरूले संरक्षण र कृषिको सन्तुलन मिलाउन सरकार र निकुञ्ज प्रशासनलाई आग्रह गरेका छन्।–00–


