काठमाडौं २६ साउन । कञ्चनपुरका विपिन जोशीको खोजीका लागि उनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशी इजरायल प्रस्थान गरेका छन्।
२०८० असोज २० गते हमासको आक्रमणपछि बेपत्ता भएका विपिनलाई खोज्न उनीहरू सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई हुँदै इजरायलतर्फ उडेका हुन्। विपिनलाई हमासले बन्धक बनाएको भनिएको छ।
लामो समयसम्म पनि विपिनको रिहाइ नभएपछि परिवार संयुक्त राष्ट्रसंघमार्फत दबाब सिर्जना गर्ने उद्देश्यले इजरायल जाँदैछ। इजरायली पक्षले नै परिवारलाई संयुक्त राष्ट्रसंघमा पुर्याई सहयोगका लागि पहल गर्ने योजना बनाएको हो।
काठमाडौंस्थित इजरायली राजदूत शमुलिक यारी बासले विमानस्थलमै पदमा र पुष्पालाई विदाई गरे। उनका अनुसार, इजरायल पुगेर उनीहरूले त्यहाँका उच्चस्तरीय राजनीतिक, प्रशासनिक तथा सुरक्षा अधिकारीहरूसँग भेटवार्ता गर्नेछन्।
पदमा र पुष्पा इजरायलस्थित नेपाली दूतावासको सम्पर्कमा रहनेछन्, र बाँकी खोजी प्रक्रिया त्यहीँबाट अघि बढ्नेछ। उनीहरूको टिकटको व्यवस्था पनि दूतावासले नै गरेको हो।
कृषि अध्ययनका लागि ‘सिक्दै कमाउँदै’ कार्यक्रममा सहभागी भएर इजरायल पुगेका विपिन हमासको आक्रमणपछि सम्पर्कविहीन भएका थिए। उनका साथीहरूले पनि हमासले विपिनलाई अन्य केही नेपालीसँगै लिएर गएको बयान दिएका थिए। सोही घटनामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। –000–

