विपद् व्यवस्थापनमा भरतपुर महानगर सक्षम बन्दै, गत आर्थिक वर्षमा १३३ वटा आगलागी नियन्त्रणगर्न सफल

आशिष अधिकारी –
चितवन, २० साउन। चितवनको भरतपुर महानगरपालिका पछिल्लो समय विपद् तथा विपदजन्य घटनाको व्यवस्थापनमा सक्षम र अग्रसर बन्दै गएको छ। हाल महानगरले दुई स्थानबाट दमकल सेवा सञ्चालन गरिरहेको छ, जसका कारण आगलागी नियन्त्रणमा उल्लेखनीय सफलता हासिल भएको हो।

भरतपुर महानगरपालिका मात्रै होइन, चितवन जिल्लाभरिका साथै छिमेकी जिल्ला नवलपुरमा समेत महानगरको दमकलले आगलागी नियन्त्रणमा सहयोग पुर्‍याइरहेको छ। महानगरका बरुणयन्त्र अधिकृत देवेन्द्रराज रेग्मीका अनुसार, आर्थिक वर्ष २०८१/०८२ मा चितवन र नवलपुरमा १३३ वटा आगलागीका घटना भएका थिए। त्यसमध्ये भरतपुर र गैँडाकोट क्षेत्रमा ९७ वटा, चनौली इकाइबाट ३६ वटा आगलागीका घटना नियन्त्रणमा ल्याइएको हो।

सुक्खा खडेरी, प्रतिकूल मौसम र मानव लापरवाहीका कारण बनजंगलमा डढेलोको समस्या दिनप्रतिदिन बढिरहेको देखिन्छ। हिउँद याममा तीव्र बनेका यस्ता घटनाहरू वर्षा याम सुरु भएसँगै केही कम भएका छन्।

तर भरतपुर महानगरपालिकाले यस्ता विपद् हुन नदिन र भएमा तत्काल नियन्त्रण गर्न सतर्कता अपनाउँदै आएको छ।
महानगरको हाल तीनवटा दमकल सक्रिय रूपमा परिचालनमा छन्।

कृत्रिम अभ्यासमार्फत जनचेतना –

विपद् व्यवस्थापन शाखा प्रमुख बालकृष्ण थपलियाका अनुसार, महानगरले सम्भावित विपद् विशेषगरी आगलागीबारे जनचेतना फैलाउन कृत्रिम घटनाको अभ्यास गर्दै आएको छ।

अभ्यासहरूमा

  • घरबाट घाइतेको उद्धार,

  • ग्यास सिलिन्डरबाट आगो नियन्त्रण,

  • अग्नि नियन्त्रण अभ्यास,

  • सम्भावित क्षति न्यूनिकरण तथा त्रास घटाउने सुरक्षात्मक उपायहरू
    प्रदर्शन गरिँदै आएको छ।

थपलियाका अनुसार, विपद् व्यवस्थापनका लागि साना–ठूला सबै आगलागी घटनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दासँग समन्वय गरी काम गर्दै आएको छ।

आगलागीबाट प्रत्येक वर्ष करोडौंको क्षति-

गृह मन्त्रालयका अनुसार, नेपालमा आगलागीका कारण बर्षेनी सयौं मानिसको ज्यान जाने तथा दुई अर्ब रुपैयाँभन्दा बढीको भौतिक क्षति हुने गरेको छ। डढेलोका कारण हजारौं हेक्टर बनक्षेत्र विनाश हुने तथ्यांकले देखाउँछ।

विश्वव्यापी जलवायु जोखिम सूचकांक अनुसार,
नेपाल

  • आगलागी जोखिममा तेस्रो स्थान,

  • भूकम्पीय जोखिममा ११औं स्थान,

  • बाढीपहिरोमा ३०औं स्थानमा रहेको देश हो।

सालभर शीतलहर, आगलागी, अतिवृष्टि, अनावृष्टि, हिमपातजस्ता प्राकृतिक प्रकोपले नेपालमा सयौंको ज्यान जाने क्रम जारी छ। भरतपुर महानगरपालिका भने सिमित स्रोत साधनका बाबजुद विपद् पिडितको उद्धार, राहत र अस्थायी आवास व्यवस्थापनमा भूमिका खेल्दै आइरहेको छ।
महानगरले आगामी दिनमा पनि विपद् जोखिम न्यूनिकरण र जनधनको सुरक्षाका लागि तयारी अवस्थामा रहने प्रतिबद्धता जनाएको छ। –00—

Share:

सम्बन्धित समाचारहरु