रेशम सापकोटा – सेतो नेपाल-
माडी,२० साउन । चितवन जिल्लाको माडी नगरपालिका–८, शिवद्वारस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले भरिपूर्ण एक रमणीय स्थलको रूपमा परिचित रहेको छ । यो माडी क्षेत्रको पहिलो सामुदायिक होमस्टे पनि हो। यो क्षेत्र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको भएकाले जङ्गली जनावरहरूको बारम्बार आक्रमणले यहाँका गाउँलेहरूको दैनिक जीवन अस्तव्यस्त हुने गरेको थियो। हात्ती, गैँडा, बाघ, बँदेलजस्ता वन्यजन्तुको आतंक दैनिक रहने गरेको थियो ।सोही स्थानमा बसोबास गर्ने मनबहादुर पुन मगर वैदेशिक रोजगार बाट छुट्टीमा आयका बेला यसको समस्या समाधान खोज्दै गाउँमै पर्यटकीय व्यवसायको थालनी गर्नुभयो।
मनबहादुर पुन मगर बहराइनको विमानस्थलमा काम गरिरहनुभएको थियो र मासिक ७० हजार रुपैयाँ आम्दानी हुँदाहुँदै पनि परिवार र गाउँको पीडाले उहाँको मन शान्त थिएन। विशेष गरी गाउँमा हात्तीको आतंकले गर्दा परिवार रातभर घरभित्र बस्न नसकी स्कुल वा सार्वजनिक स्थलमा सुत्न बाध्य हुनु परेको कुरा उहाँलाई गहिरो चोट दिन्थ्यो। तराई भूपरिधि कार्यक्रमअन्तर्गत निकुञ्जबाट प्रभावित केही स्थानीयलाई पूर्वी नवलपरासीको अमलटारी सामुदायिक होमस्टे अवलोकन गर्न लगिएको टोलीमा जानुभयो मनबहादुर पुन मगर, जहाँका अध्यक्ष प्रेमशंकर मर्दनियाबाट प्रेरणा लिएर उहाँले २०७१ सालमा शिवद्वारमै अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेको स्थापना गर्नुभयो।

सुरुवाती दिनहरूमा गाउँलेहरूले मनबहादुरको सोचलाई गम्भीरतापूर्वक लिन सकेनन्। बाहिरका केही व्यक्तिसँग सहकार्य गर्दा पनि सफलता मिलेन। तर हार नमान्दै गाउँमै पुनः छलफल गर्दा टोलका ११ घरपरिवारले साथ दिएर होमस्टेको ऐतिहासिक प्रयास सुरु भयो। कुनै सरकारी अनुदान र प्राविधिक सहयोग नभएको अवस्थामा आफ्नै श्रम र खर्चमा घरहरू निर्माण गरियो। अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले झ्यालढोका बनाउन ५० हजार रुपैयाँ सहयोग प्रदान गर्यो। त्यसपछि सहयोगको लहर बढ्दै गयो र २०७२ साल पौष १२ गते तत्कालीन वन तथा भूसंरक्षण मन्त्री अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा होमस्टेको औपचारिक उद्घाटन भयो।
२०७४ सालमा अष्ट्रेलियाका राजदूतको भ्रमणपछि होमस्टेले थप गति लियो। सबै घरमा एउटै कर्पोरेट रङ लगाइने, बाथरुममा गिजर जडान गरिने, खानेपानीको सुविधा सुधारिने, कोठामा जिप्सन र डसना परिवर्तन गरिने, डाइनिङ हल, कार्यालय उपकरण, पोखरी निर्माण र आधुनिक किचन सामग्री थपिने जस्ता कामहरू सम्पन्न भए। कुल १ करोड ४ लाख रुपैयाँभन्दा बढी लागतमा यी संरचनाहरू तयार भए। हाल प्रदेश सरकारले करिब १ करोड रुपैयाँ बराबरको नयाँ भवन निर्माण गरिरहेको छ, जसको डिपिसी (DPC) कार्य सम्पन्न भइसकेको छ। यसै क्रममा वडा कार्यालयबाट नियमित वार्षिक रूपमा सहयोग रकम प्राप्त हुँदै आएको र नगरपालिकाबाट पनि सहयोग प्राप्त हुँदै आएको अध्यक्ष मनबहादुर पुनले जानकारी दिनुभयो।
यो होमस्टेमा हाल १७ घरपरिवारले सहभागिता जनाएका छन् र ३६ वटा कोठाहरू छन्, जसले एकैपटक १०८ जना पाहुनालाई सेवा दिन सक्छ। व्यवस्थापनका लागि कार्यालयमा दुई जना स्थायी कर्मचारी कार्यरत छन्। पाहुनाबाट लिइने शुल्कको १०% रकम कार्यालय व्यवस्थापन र विकास कोषमा राखिन्छ।

होमस्टेमा पाहुनालाई प्रदान गरिने सेवा सुविधा अत्यन्तै सफा, सुन्दर र व्यवस्थित छ। स्थानीय खानपानमा फापर, मकै, कोदो, गुन्द्रुक, जौ र दालभातजस्ता परिकार समावेश छन्। साथै मगर समुदायको सांस्कृतिक प्रस्तुति हरेक दिन प्रस्तुत गरिन्छ, जसले पाहुनाहरूलाई सांस्कृतिक अनुभूति प्रदान गर्दछ। यहाँको आतिथ्य सत्कार र आत्मीय व्यवहारका कारण एकचोटि आएका पर्यटकहरू दोहोरिएर आउने गर्छन्।
माडी क्षेत्रका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक स्थलहरूको पनि विशेष महत्व छ। पर्यटकहरूलाई हरेक दिन यी स्थलहरूको बारेमा जानकारी गराइन्छ, जसले धार्मिक तथा जैविक पर्यटनलाई अझ प्रवर्द्धन गरेको छ। मनबहादुर पुनले आफ्नो मात्र होमस्टेमा बस्नुपर्नेमा जोड नदिइ, यहाँ रहेका अन्य सातवटा सामुदायिक तथा केही निजी होमस्टेहरूमा पनि जान र त्यहाँको सांस्कृतिक र खानपान अनुभव लिन पाहुनाहरूलाई प्रोत्साहित गर्नुहुन्छ।
अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेले वैदेशिक रोजगारमा गएका युवाहरूलाई गाउँमै रोजगारीका अवसर प्रदान गर्दै गाउँ फर्काएर व्यवसायिक रूपमा जीविकोपार्जन गर्न सहयोग गरेको छ। माडी क्षेत्रको धार्मिक तथा पर्यटनको सम्भावना अत्यन्तै उच्च रहेको र ठोरी नाकाको खुलासँगै धार्मिक पर्यटकहरूको चाप अझ बढ्ने आशा गरिएको छ।
भविष्यका योजनामा चराचुरुङ्गी प्रजनन केन्द्र स्थापना गर्ने पनि छ। सार्वजनिक एक विघा जमिनमा पोखरी खनेर वरिपरि फलफूलका बिरुवा रोपेर चराचुरुङ्गीमैत्री वातावरण बनाउने सो योजनाको काम अगाडि बढेको पुन मगर बताउनुहुन्छ।
सुरुवाती दिनहरूमा पानी र बिजुलीको समस्या थियो। ट्याङ्कीमा बाल्टिबाट पानी हालेर सेवा सञ्चालन गर्नु पर्ने अवस्था थियो। तर अहिले पूर्ण रूपमा विद्युतीकरण सम्पन्न भइसकेको छ, मोटरको व्यवस्था छ र सबै कोठामा आधारभूत सुविधाहरू उपलब्ध छन्।
हाल माडी क्षेत्रमा सातवटा सामुदायिक होमस्टेहरू र केही निजी होमस्टेहरू सञ्चालनमा छन्। यी सबै मिलेर माडीलाई पर्यटकीय र धार्मिक दृष्टिले अगाडि बढाइरहेका छन्। प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र ऐतिहासिक महत्व बोकेको यो क्षेत्रमा पाहुनाहरूलाई सफा, सुरक्षित र आत्मीय वातावरणमा सेवा दिइने भएकाले यहाँको पर्यटन अझ सशक्त हुँदै गएको छ।
मनबहादुर पुन मगर अध्यक्ष रहेको यो होमस्टे केवल पर्यटन व्यवसायमात्र नभई गाउँ र समुदायका लागि रोजगारी र विकासको एउटा आशाको किरण बनेको छ। यहाँ आउने पर्यटकहरूले माडी क्षेत्रका सम्पूर्ण सांस्कृतिक, ऐतिहासिक र जैविक पक्षहरूलाई नजिकबाट अनुभूति गर्न पाउँछन्, जसले यहाँको विकासलाई थप सशक्त बनाउँदैछ।–00—


