देउवाको आग्रहपछि मुख्यमन्त्री बहादुर लामा राजीनामा दिन तयार

काठमाडौं, १६ साउन ।  बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामा आफ्नो पदबाट राजीनामा दिन तयार भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधानीलकण्ठमा बोलाएर मार्ग प्रशस्त गर्न आग्रह गरेपछि मुख्यमन्त्री लामा राजीनामा दिन सहमत भएका हुन्।

यसअघि दलको नेतामा इन्द्र बानियाँसँग पराजित भए पनि लामाले मुख्यमन्त्री पद नछाड्ने अडान लिएका थिए। तर पार्टी सभापति देउवाको स्पष्ट निर्देशनपछि उनले हेटौंडा फर्केर आफूनिकटका नेताहरूसँग राजीनामा दिने तयारीबारे जानकारी गराएका छन्।

मुख्यमन्त्री लामानिकट प्रदेशसभा सांसद तीर्थ लामाले ‘मुख्यमन्त्रीले भोलिसम्ममा राजीनामा दिने’ बताए। उनले भने, “उहाँले सभापतिसँग हिजो कुरा गर्नुभएको छ। अब भोलिसम्ममा राजीनामा दिने मनस्थितिमा हुनुहुन्छ।”

मुख्यमन्त्री लामाले राजीनामा दिएपछि इन्द्र बानियाँको नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नेछ।–00–

Share:

सम्बन्धित समाचारहरु