बागमतीका नवनियुक्त मन्त्रीहरूको शपथ अनिश्चितकालका लागि स्थगित

चितवन, १६ साउन । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ। प्रदेश प्रमुखको स्वास्थ्यमा समस्या आएपछि आज दिउँसो १ बजेका लागि तय गरिएको शपथ कार्यक्रम स्थगित भएको हो।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले एक विज्ञप्ति जारी गर्दै अर्को सूचना नभएसम्मका लागि शपथग्रहण समारोह स्थगित गरिएको जानकारी दिएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात समस्या आएको हुँदा उहाँ आज बिहानै उपचारका लागि काठमाडौं प्रस्थान गर्नुभएको छ। त्यसैले उहाँको निर्देशनअनुसार शपथग्रहण कार्यक्रम हाललाई स्थगित गरिएको छ।’

बुधबार मुख्यमन्त्री बहादुरसिंह लामाले गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए। तर नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रमका कारण शपथग्रहण बिहीबारका लागि सारिएको थियो।

मुख्यमन्त्री लामा उक्त निर्वाचनमा कांग्रेसका इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए। बानियाँले आफूलाई बहुमत सांसदको समर्थन रहेको दाबी गर्दै लामालाई राजीनामा दिन दबाब दिइरहेका छन्। तर लामा भने संसदीय दलको नेताबाट पराजित भएको आधारमा राजीनामा दिनुपर्ने छैन भन्ने अडानमा छन्।

बहादुरसिंह लामा संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन्। उक्त धाराले कुनै पनि दलको स्पष्ट बहुमत नपुगेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत हासिल गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सकिने व्यवस्था गरेको छ। –00–

 

Share:

सम्बन्धित समाचारहरु