काठमाडौं,१२ साउन । – देशभर मनसुनी प्रणालीको सक्रिय प्रभाव कायमै रहेकाले काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपासमा सक्रिय रहेको छ।
आज (साउन १२) दिउँसो देशभर सामान्यतया बादल लागेको अवस्था रहनेछ। गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षा हुन सक्ने सम्भावना पनि महाशाखाले जनाएको छ।
आज रातिसमेत देशभर सामान्य बदली रहनेछ। गण्डकी लगायतका पहाडी क्षेत्रका केही स्थानहरूमा तथा तराईका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।


