जनकपुरधाम ९, कात्तिक । आदिदेव सूर्यको उपासना गरेर मनाइने महापर्व छठको दोस्रो दिन आज खरना विधि देशभर श्रद्धा र भक्तिसहित मनाइँदै छ।
आज दिनभर उपवास बसेका ब्रतालुहरूले साँझपख चामल, दूध र सक्खर मिसाएर तयार गरिएको खीर पकाई प्रसादस्वरूप ग्रहण गर्दै खरना मनाउँछन्। यो खीर घरका सबै सदस्यले प्रसादका रूपमा ग्रहण गर्छन् भने छठ पर्व नमनाउने घरहरूमा वितरण गर्ने परम्परा पनि छ।
चार दिनसम्म मनाइने छठ पर्व सन्तान र पारिवारिक सुख–समृद्धिको कामनासहित हिजो शनिबार ‘नहाय–खाय’ विधिबाट सुरु भएको थियो। सो दिन ब्रतालुहरूले स्नान गरी चोखो भोजन ग्रहण गरेर आगामी कठोर उपवासको तयारी गर्छन्।
भोलि सोमबार छठको तेस्रो तथा मुख्य दिन ब्रतालुहरूले जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन्। त्यसपछि मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको विधिवत् समापन गरिनेछ।
छठ पर्वमा बाँसका ढाकी, डगरी, माटोका कोसिया–कुरबार र हाँडीलगायत सामग्री प्रयोग गर्ने परम्परा छ। प्रसादका रूपमा ठकुवा, भुसुवा, केरा, उखु, हल्दी, अदुवा, मिठाई तथा फलफूल अर्पण गरिन्छ।
अर्घ्य दिने ब्रतालुहरूले ४८ घण्टासम्म जल समेत नखाई कठोर उपवास बस्ने परम्परा पालना गर्छन्। सबै परिकार र विधिहरू अत्यन्त नियम–निष्ठासहित तयार गर्नुपर्ने भएकाले छठलाई सबैभन्दा निष्ठा र शुद्धतापूर्ण पर्वका रूपमा मानिन्छ।–00–


