प्लास्टिकको विकल्प टपरी : फुलबारी आमा समूहको प्रेरणादायी कदम

– रेशम सापकोटा, सेतो नेपाल

चितवन, १२ साउन – माडी नगरपालिका वडा नं. ८, अयोध्यमार्गमा सक्रिय फुलबारी आमा समूहले स्थानीय स्रोतको उपयोग गर्दै वातावरणमैत्री उत्पादनको सुरुआत गरेको छ।

प्लास्टिकजन्य वस्तुको विकल्पका रूपमा सालको पातबाट दुना–टपरी उत्पादन गर्ने मेसिन स्थापना गरी समूहले आइतबार एक भव्य समारोहका बीच औपचारिक रूपमा शुभारम्भ गरेको हो।

समारोहमा प्रमुख अतिथि बागमती प्रदेशका वन तथा वातावरण मन्त्री माननीय कृष्णप्रसाद सिलवाल रहनुभएको थियो। उहाँले उद्घाटन मन्तव्यमा वातावरणीय सन्तुलन कायम गर्न जैविक विकल्पको प्रयोग अत्यन्त जरुरी भएको उल्लेख गर्दै, यस्तो सिर्जनात्मक कार्यलाई प्रदेश सरकारले नीति र बजेटका माध्यमबाट निरन्तर समर्थन गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीय महिलाको नेतृत्वमा भएको यस्तो वातावरणमैत्री पहल प्रदेशका अन्य स्थानका लागि पनि अनुकरणीय हुने विश्वास गरिएको उहाँको भनाइ छ।

कार्यक्रमका विशिष्ट अतिथि बागमती प्रदेश सभा सदस्य तथा शिक्षा, स्वास्थ्य, कृषि समिति सभापति माननीय ठाकुरप्रसाद ढकालज्यूले फुलबारी आमा समूहले देखाएको समाजप्रति उत्तरदायी व्यवहार प्रशंसनीय रहेको बताउनुभयो।

वातावरण संरक्षण र स्थानीय उद्यमशीलताको संयोजनले समुदायलाई आत्मनिर्भर बनाउने मार्ग खोल्ने भन्दै उहाँले आगामी दिनमा यस्ता कार्यक्रमहरूप्रति प्रदेश सरकार संवेदनशील र सहयोगी रहने धारणा व्यक्त गर्नुभयो।

माडी नगरपालिकाकी मेयर ताराकाजी कुमारी महतले आफ्नो सम्बोधनमा स्थानीय सरकारको तर्फबाट यस्ता जनउत्तरदायी र वातावरणमैत्री कार्यक्रमप्रति पूर्ण समर्थन रहने बताउनुभयो।

उहाँले फुलबारी आमा समूहले समाजमा जागरण, स्वच्छता र सिर्जनात्मक काममार्फत दिएको सन्देश अतुलनीय रहेको भन्दै आगामी दिनमा पूर्वाधार विकास, तालिम तथा प्रविधिमा आवश्यक समन्वय गरिने स्पष्ट पार्नुभयो।

उक्त टपरी मेसिन राष्ट्रिय प्रकृति संरक्षण केन्द्र, सौराबाट प्राप्त सहयोगमा ल्याइएको हो भने यसको समन्वय अयोध्यापुरी मध्यवर्ती उपभोक्त समितिले गरेको थियो। समितिका अध्यक्ष शिवजी गायकले प्लास्टिकमुक्त माडी निर्माणको अभियानमा आजको दिन ऐतिहासिक रूपमा चिनिनुपर्ने उल्लेख गर्नुभयो। नगरलाई दिगो र स्वच्छ बनाउने उद्देश्यसहित अघि बढाइएको यो काममा सबै पक्षको सहकार्य अझ सशक्त रूपमा आवश्यक रहेको उहाँको धारणा थियो।

फुलबारी आमा समूहकी सचिव सोमा पन्तले समूहले हालसम्म गरेका कार्यहरूको विवरण प्रस्तुत गर्दै बाटो सरसफाइ, दायाँबायाँको ढुंगामा रंगरोगन, प्रत्येक घरमा फूलबारी, राष्ट्रिय झण्डासहितको सजावट, सचेतनामूलक स्लोगान लेखन जस्ता कामहरू नियमित रूपमा सम्पन्न गर्दै आएको बताउनुभयो।

उहाँले बिहान घरको काम, खेतबारीको जिम्मेवारी पूरा गरी समय निकालेर समाज सेवामा समर्पित हुँदै आएको समूहलाई थप प्रभावकारी बनाउन आवास सहितको हलको आवश्यकता औंल्याउँदै पाहुनाहरूसँग अनुभव आदान–प्रदान गर्न सहज हुने व्यवस्था मिलाइ दिन आग्रह गर्नुभयो।

साथै, सामाजिक कार्यसँगै महिलाहरूको आर्थिक आत्मनिर्भरताका लागि जीविकोपार्जनमुखी कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिदिनु हुन पनि उहाँले सम्बन्धित पक्षसँग अपिल गर्नुभयो।

उक्त कार्यक्रम समूहकी अध्यक्ष सुजिता पाण्डेको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा माडी नगरपालिकाका प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, चितवन राष्ट्रिय निकुञ्जका वन संरक्षण अधिकृत डा. गणेश पन्त, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, नयाँ गोरख गणका गणपति शिवराम बस्नेत, वडा नं. ८ का अध्यक्ष वीरेन्द्र बहादुर भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका वरिष्ठ रेन्जर ऋषिराम सुवेदी,पूर्व अध्यक्षहरू, स्थानीय विद्यालयका शिक्षक, पत्रकार, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधिहरू तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

फुलबारी आमा समूहले यसअघि पनि सामुदायिक सौन्दर्यकरण, हरियाली प्रवर्द्धन, सामाजिक जागरण, स्वच्छता अभियान र वातावरणीय सचेतनाका विविध कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्दै आएको छ।

अहिले माडी नगरपालिका वडा नं. ८ मा रहेको अयोध्यमार्गका महिलाहरूले गरेका यी कार्यहरूप्रति देशैभरि प्रशंसा भइरहेको छ।
आजको यो अभियान त्यसै प्रयासको सशक्त निरन्तरता हो, जसले माडीलाई स्वच्छ, हरित र आत्मनिर्भर बनाउने यात्रामा थप प्रेरणा र गति प्रदान गरेको देखिन्छ ।

Share:

सम्बन्धित समाचारहरु