कपिलवस्तु,५ वैशाख । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरी गोली प्रहार भएको छ। बिहीबार राति साढे ११ बजे अध्यक्ष चौधरीमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए।
डीएसपी अधिकारीका अनुसार, अध्यक्ष चौधरीलाई लक्षित गरी कपिलवस्तुको मायादेवी गाउँपालिका-१ स्थित आफ्नै घरको परिसरमा गोली प्रहार भएको हो। शुद्धोधनको अध्यक्ष भए पनि चौधरी हाल मायादेवीस्थित घरमा बस्दै आएका थिए।
घटनाबारे जानकारी दिँदै डीएसपी अधिकारीले भने, “अध्यक्ष चौधरी शौचालय गएर फर्किने क्रममा गोली प्रहार भएको हो। घटनास्थलबाट पेस्तोलमा प्रयोग हुने गोलीको खोका बरामद गरिएको छ।”
हाल, अध्यक्ष चौधरी सकुशल रहेका छन्। गोली प्रहार भए तापनि उनीलाई कुनै चोटपटक लागेको छैन। “अध्यक्षज्यूले भने अनुसार, शौचालय गएर फर्किँदै गर्दा घरको गेटबाहिरबाट कसैले गोली प्रहार गरेको रैछ, तर उहाँ सकुशल हुनुहुन्छ,” डीएसपी अधिकारीले थपे।
घटनाको थप अनुसन्धान भइरहेको डिएसपी अधिकारीले जानकारी दिएका छन्।–00–


