रेशम सापकोटा – सेतो नेपाल
चितवन,१० साउन।- निजी तथा आवासीय विद्यालय संगठन (प्याप्सन) चितवनले एसईई २०८१ मा चार जिपिए (४.०० GPA) हासिल गर्ने ३७ जना छात्रछात्रालाई एक औपचारिक समारोहबीच सम्मान गरेको छ।
भरतपुर महानगरपालिका–११ स्थित प्याप्सन चितवनको आफ्नै भवनमा आयोजना गरिएको कार्यक्रममा निजी र सरकारी दुवै विद्यालयका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई फूलमालाले स्वागत गरी, सम्मानपत्र, नगद पाँच हजार रुपैयाँ सहित सम्मान गरिएको हो।

कार्यक्रममा ४ जीपीए ल्याउने ३७ विद्यार्थीहरू मात्र नभई उनीहरूका अभिभावकहरू र सम्बन्धित विद्यालयका शिक्षकहरूको पनि उपस्थिति रहेको थियो। विद्यार्थीको सफलतामा सबैको सामूहिक योगदान रहने भएकाले, सम्मान समारोहले अभिभावक र शिक्षकहरूको पनि मन छोएको थियो।
कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले बिरुवामा जल अर्पण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। मन्तव्यका क्रममा उहाँले यस्ता सम्मानले विद्यार्थीहरूमा आत्मबल थप्ने मात्र नभई समाजमा शिक्षा प्रतिको विश्वास र लगाव पनि गहिरो बनाउने धारणा राख्नुभयो।
कार्यक्रमको सभाध्यक्ष प्याप्सन चितवन अध्यक्ष मदन पुरी रहनुभएको थियो। उहाँले विद्यार्थीको मेहनतको कदर गर्नु संस्थाको दायित्व रहेको उल्लेख गर्दै यस्ता कार्यक्रममा अझ वृद्धि गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख तथा नगर शिक्षा अधिकारी सुभाषचन्द्र आचार्य, संस्थागत विद्यालय अभिभावक सङ्घ चितवन अध्यक्ष सूर्यकान्त न्यौपाने, शिक्षा विकास तथा समन्वय इकाइ चितवनका शाखा अधिकृत रमेश अधिकारी, प्याप्सन बागमती प्रदेश उपाध्यक्ष इन्दिरा कार्की, तथा वरिष्ठ सल्लाहकार हेमराज शर्मा, लेखनाथ खनाल, श्रीप्रसाद ढुङ्गाना, बेलबहादुर गुरुङ, दिनबन्धु अधिकारी, पूर्व केन्द्रीय सदस्य मोहन लामा, धनप्रसाद रेग्मी, प्रदेश कोषाध्यक्ष बालहरी देवकोटा, प्रदेश सदस्य विमल कुमार क्षेत्री लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सामुदायिक विद्यालयको तर्फबाट नारायणी नमुना माविका प्रधानाध्यापक रामशरण दवाडी र संस्थागत विद्यालयको तर्फबाट स्कुलका सहायक प्रधानाध्यापक जोगिन थोमसले मन्तव्य राख्दै विद्यार्थीको लगनशीलता र विद्यालयहरूको भूमिका स्मरण गर्नुभएको थियो।
विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै नारायणी पब्लिक स्कुलकी छात्रा अनुष्का नेपालले मन्तव्य राख्दै भन्नुभयो ४ GPA ल्याउनु मेरो व्यक्तिगत सफलता संगै, यो मेरो परिवार, शिक्षक,बिधालय, साथीहरूको साथ र सहयोगको परिणाम हो। यस्तो सम्मानले अझ जिम्मेवार बन्न प्रेरित गर्दछ ।
कार्यक्रममा स्वागत मन्तव्य प्याप्सन चितवनका जिल्ला उपाध्यक्ष तथा तालिम तथा गुणस्तर विभाग संयोजक श्रीकृष्णप्रसाद भट्टले राख्नुभएको थियो भने सञ्चालन प्याप्सन चितवनका सचिव दयानिधि अर्यालले गर्नुभएको थियो।
विद्यार्थी, अभिभावक र शिक्षकहरूलाई एउटै थलोमा सम्मान गर्ने यस्तो पहलकदमीले शिक्षा क्षेत्रको मूल्य, योगदान र सम्मानलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।–00–


