रत्ननगर,९ साउन । चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकस्थित पूर्व–पश्चिम राजमार्गमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
मिति २०८२ साउन ९ गते राति १२:३० बजे प्रदेश २–०२–००१ च ०५१० नम्बरको तरकारी बोक्ने लोड बोलेरोले ओभरटेक गर्ने क्रममा टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको बा.प्र.०६–००१ प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक कालिका नगरपालिका–२ चितवनका ३५ वर्षीय मुकुन्द कँडेललाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएकामा डाक्टरले १:१९ बजे मृत घोषणा गरेका छन्।
दुर्घटनामा संलग्न बोलेरोले जनकपुरबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ ख ३३६५ नम्बरको नाइट बसलाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको बताइएको छ। ठक्करबाट बसको चालक साइडको सिसा फुटेको भए पनि बसमा अन्य मानवीय क्षति भने नभएको र त्यसलाई गन्तव्यतर्फ पठाइएको प्रहरी स्रोतले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक जयराम साहको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। बोलेरो गाडी र चालक जिल्ला कास्की लेखनाथ नपा–२७ का ३० वर्षीय हुमेश लामगाले र बोलेरोका सवारी धनी माछापुच्छ्रे गाउँपालिका–३ कास्कीका ३४ वर्षीय ध्रुवराज पोखरेल प्रहरीको नियन्त्रणमा छन्। पोखरेलको बाँया हातमा सामान्य चोट लागेको जनाइएको छ।
घटनास्थल प्रहरी बिट शान्तिबिटबाट करिब ३०० मिटर पश्चिमतर्फ पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

