एनपीएल सिजन २ का लागि चितवन राइनोजको लोगोमा परिवर्तन, ‘गैंडा’लाई केन्द्रमा

चितवन, ७ साउन । — नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि चितवन राइनोजले आफ्नो टिम लोगोमा सानो तर महत्वपूर्ण परिवर्तन सार्वजनिक गरेको छ। टिमको पहिचान र भावनात्मक सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यसहित गरिएको यस परिवर्तनले फ्यानहरूमा थप ऊर्जा भर्ने अपेक्षा गरिएको छ।

गत सिजनको लोगोमा “चितवन” भन्ने शब्दलाई अगाडि राखिएको थियो, जुन टिमको शहरको पहिचानमा केन्द्रित थियो। तर यसपटक “राइनोज” अर्थात् गैंडालाई मुख्य रुपमा प्रस्तुत गरिएको छ — एक यस्तो प्रतीक जसले टिमको मर्म र समर्थकहरूको भावना दुवैलाई जोड्छ।

भावना उस्तै, प्रस्तुति नयाँ –

चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेका अनुसार, “नयाँ लोगो फ्यानहरूको रोजाइ र राइनोजको मर्मलाई अझ स्पष्ट ढंगले देखाउने प्रयत्न हो। गैंडा अब केवल चितवनको होइन, पूरै देशको गर्वको प्रतीक हो।”

नयाँ लोगोमा देखिएको गैंडा, चितवन, नेपाली क्रिकेट र एनपीएलप्रति समर्पित लाखौं समर्थकहरूको प्रतिनिधि बनेर आएको छ। टिमले यही भावनालाई बोकेर एनपीएल सिजन २ मा अझ बलियो रणनीतिका साथ मैदानमा उत्रने तयारी गरेको जनाएको छ।

‘मास्टर गैंडा’ को लोकप्रियता र प्रभाव-

गत सिजनमा टिमको मस्कटको रूपमा प्रस्तुत गरिएको “मास्टर गैंडा” ले अभूतपूर्व लोकप्रियता कमाएको थियो। फ्यानहरूको त्यो माया र साथलाई कदर गर्दै यसपटकको लोगो अझ नजिक, स्पष्ट र आत्मीय ढंगमा तयार गरिएको छ।

“भाव उही हो, पहिचान अझ मजबुत बनेको छ,” विज्ञप्तिमा भनिएको छ।

Share:

सम्बन्धित समाचारहरु