चितवन, ५ साउन । चितवनको भरतपुरमा नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोरको डुबेर मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–१५ सूर्यनगर निवासी अन्दाजी १४/१५ वर्षीय मेक्सन पुन मगर आइतबार दिउँसो नारायणी नदीमा डुबेर ज्यान गुमाएका हुन्।
दिउँसो करिब ३:३० बजे पाँच जनाको समूह पौडी खेल्न भरतपुर–१६ स्थित गणेश मन्दिर नजिकको नारायणी नदी किनारमा पुगेका थिए। उनीहरूमध्ये मेक्सन पुन मगर नदीमा डुबेर बेपत्ता भएका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षक काशीराज थापाको नेतृत्वमा विपद् व्यवस्थापन टोली घटनास्थलमा खटिएको थियो। खोजी कार्यकै क्रममा करिब ५:०० बजे उनलाई घटनास्थलमै गम्भीर अवस्थामा फेला पारिएको र तत्कालै भरतपुर अस्पताल लगिएको थियो।
भरतपुर अस्पतालमा डाक्टरले उनलाई साँझ ५:३१ बजे मृत घोषणा गरेका छन्। बाँकी चार जना साथीहरू भने सकुशल रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त स्थान जिल्ला प्रहरी कार्यालय नारायणगढबाट करिब १०–११ किलोमिटर उत्तर–पश्चिममा पर्छ। –00–


