चितवन,५ साउन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित खहरे खोलामा सवारी दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। आज साँझ करिब ५ः४५ बजे मुग्लिङ–नारायणगढ सडक खण्डमा म्याजिक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना १ ज ५१०६ नम्बरको म्याजिक र विपरीत दिशाबाट आइरहेको बा.प्र.०३–००३ प ४९४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो।
दुर्घटनामा परेर मोटरसाइकल चालक भरतपुर–७ निवासी ४० वर्षीय देव खड्काको घुँडामा मध्यम चोट लागेको छ भने पछाडि सवार ३५ वर्षीया कल्पना खड्का सामान्य घाइते भएकी छन्।
त्यसैगरी, म्याजिकमा सवार धादिङ नगरपालिका–३ निवासी ६० वर्षीया तिलकुमारी अर्यालको दुबै हातमा सामान्य चोट लागेको छ। घाइतेहरुलाई दुर्घटनामा संलग्न म्याजिकका चालक इच्छाकामना गाउँपालिका–४ का ४० वर्षीय संजय गुरुङले एलाइभ हस्पिटल, भरतपुर पुर्याएका हुन्।
मोटरसाइकल नियन्त्रणमा लिइएको छ भने सडकमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी चौकी जुगेडीबाट प्रहरी निरीक्षक हरीबहादुर लामा तामाङको कमाण्डमा ट्राफिकसहितको टोली खटिएको थियो। जुगेडी प्रहरी चौकी अनुसार दुर्घटना भएको स्थान चौकीबाट करिब २ किलोमिटर उत्तरतर्फ पर्छ।
—00–


