न्यू क्यापिटल कलेजले वर्षभर २२ कार्यक्रमको आयोजनागरी २५ औँ वार्षिकोत्सव मनाउँदै

चितवन,५ साउन । पूर्वी चितवनको रत्ननगर–४ स्थित न्यू क्यापिटल कलेजले आफ्नो स्थापनाको २५ औँ वर्षगाँठ अवसरमा रजत महोत्सव मनाउने भएको छ। कलेजले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै वर्षभर २२ वटा शीर्षकमा विविध कार्यक्रम गरी रजत महोत्सव भव्यताका साथ मनाइने जानकारी दिएको हो।

वि.सं. २०५७ मा १७ जना शिक्षक र ८१ जना विद्यार्थीबाट सुरु भएको कलेज अहिले ५५ शिक्षक, १५ कर्मचारी र १ हजार २३ जना विद्यार्थीसहितको प्रमुख शैक्षिक केन्द्रका रूपमा विकास भएको छ। व्यवस्थापन र विज्ञान संकायमा गुणस्तरीय शिक्षामा केन्द्रित सो कलेजले ‘कमाउँदै पढ्दै’ भन्ने नारालाई आत्मसात गर्दै व्यावहारिक शिक्षालाई प्राथमिकता दिँदै आएको छ।

कलेजका प्राचार्य भूपेन्द्र धितालका अनुसार रजत महोत्सवको औपचारिक सुरुवात साउन ७ गते ‘स्रष्टा सम्मान’ कार्यक्रमबाट हुनेछ। उक्त अवसरमा रत्ननगरका साहित्यकार विश्वनाथ खनाललाई २५ हजार रुपैयाँ राशीको पुरस्कारसहित सम्मान गरिनेछ।

रजत महोत्सव अन्तर्गत स्मारिका प्रकाशन, रजत स्तम्भ तथा प्रतीक्षालय निर्माण, अन्तरविद्यालय चित्रकला, हाजिरजवाफ, वक्तृत्वकला प्रतियोगिता, फुड फेस्टिवल, विज्ञान प्रदर्शनी, रक्तदान, स्वास्थ्य शिविर, च्यारिटी शो, खेलकुद, म्याराथन, वृक्षरोपण, सरसफाइ अभियान, विद्यालय स्थापनाको दिन विशेष कार्यक्रम र अन्तर आमा समूह तीजगीत प्रतियोगिता आयोजना गरिनेछ।

कलेजले रजत महोत्सवकै अवसरमा विशेष छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ। आर्थिक अभावका कारण पढ्न नसकेका विद्यार्थीहरूलाई प्रत्येक वर्ष पूर्ण छात्रवृत्ति दिइने प्राचार्य धितालले जानकारी दिए।

धितालका अनुसार कलेजले विद्याथीहरूलाई रोजगारीसँग जोड्न ‘इलेक्ट्रिसिटी’, ‘प्लम्बिङ’ र ‘कफी बनाउने कला’ जस्ता व्यावसायिक सीपमूलक कक्षा सञ्चालन गरिरहेको छ। यी कक्षाहरूले विद्यार्थीलाई आत्मनिर्भर बनाउन सहयोग पुर्‍याइरहेको उनले बताए।

समुदायमा प्रभाव पार्ने उद्देश्यले आयोजना गरिएका रक्तदान, स्वास्थ्य शिविर, सरसफाइ कार्यक्रमले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कलेजको प्रतिबद्धता देखाउँछ। यस्तै, चित्रकला, हाजिरजवाफ, वक्तृत्वकला तथा तीजगीत प्रतियोगिताहरूले विद्यार्थी र समुदायको प्रतिभा तथा रचनात्मकता उजागर गर्ने विश्वास प्राचार्य धितालले व्यक्त गरे।

उनका अनुसार विज्ञान प्रदर्शनी र फुड फेस्टिवलले नवप्रवर्तन र सांस्कृतिक विविधता उजागर गर्नेछ भने खेलकुद र म्याराथनले शारीरिक तन्दुरुस्ती तथा अनुशासन प्रवर्द्धन गर्नेछन्। स्मारिका प्रकाशनले कलेजको २५ वर्षे यात्रालाई दस्तावेजीकरण गर्ने र शिक्षक तथा संस्थापक सदस्य सम्मान कार्यक्रममा योगदान दिनेहरूप्रति कृतज्ञता प्रकट गरिनेछ।

कलेजले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, व्यावसायिक सीप विकास र सामाजिक उत्तरदायित्वमा आधारित कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

–00–

Share:

सम्बन्धित समाचारहरु