काठमाडौं,४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण आगामी भदौ ३१ गते हुने निश्चित भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट प्रधानमन्त्री ओलीलाई दुई दिने भ्रमणका लागि औपचारिक निमन्त्रणा प्राप्त भइसकेको छ।
प्रधानमन्त्री कार्यालयका एक स्रोतका अनुसार, ओलीको यो भ्रमण अहिलेसम्मकै सबैभन्दा छोटो भारत यात्रा हुने सम्भावना छ। नेपाली सरकारी प्रतिनिधिमण्डल भदौ ३१ गते भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नेछ र त्यसको भोलिपल्ट, असोज १ गते, काठमाडौं फर्कने कार्यक्रम छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार, “यो भ्रमणमा ठूला एजेन्डामा छलफल हुने सम्भावना कम छ। तर, दुई देशबीचको सम्बन्धलाई अझ मजबुत, मैत्रीपूर्ण बनाउने, विगतका समझदारीलाई निरन्तरता दिने र केही नयाँ परियोजनाहरू अगाडि बढाउनेतर्फ केन्द्रित हुनेछौं।”
यस भ्रमणअघि नै द्विपक्षीय सीमा व्यवस्थापन समूह (Border Working Group ) को गृहसचिवस्तरीय बैठक नयाँ दिल्लीमा बस्ने तय भएको छ। नेपालले उक्त बैठकका लागि आवश्यक तयारी सुरु गरिसकेको छ। आइतबार (आज) उक्त बैठकका तयारीका लागि विशेष छलफल राखिएको छ।
गत चैत महिनामा थाइल्याण्डको राजधानी बैंककमा सम्पन्न BIMSTEC बैठकको क्रममा प्रधानमन्त्री ओली र मोदीबीच छुट्टाछुट्टै भेट भए पनि सौहार्दपूर्ण वातावरण बन्न सकेको थिएन। सो अवसरमा नेपाल–भारत सीमा विवाद, नयाँ नक्सा, लगायतका विषय उठेका थिए। यही प्रसंगका कारण ओलीको यो भ्रमणको सुरुवातमै सीमासम्बन्धी विषय प्राथमिकतामा पर्न सक्ने देखिएको छ।
नेपालले आफ्नो संविधान संशोधन गरेर लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सा पारित गरेपछि भारत असन्तुष्ट रहेको छ। प्रधानमन्त्री ओलीकै नेतृत्वमा सबै दलहरूको सहमतिमा संविधान संशोधन गरिएको थियो।
कात्तिकमा मोदीको सम्भावित नेपाल भ्रमण
यसअघि ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई काठमाडौं भ्रमणका लागि निमन्त्रणा दिएका थिए, जुन भारतले तत्काल स्वीकृत गरेको थिएन। तर, यसपटक भने कात्तिक पहिलो हप्ता (नोभेम्बरको तेस्रो साता) मोदी नेपाल आउन सक्ने प्रारम्भिक सहमति बनेको सरकारी स्रोतले जनाएको छ।
तर, प्रधानमन्त्री मोदी काठमाडौं नआइ धार्मिक, पर्यटन वा व्यापारिक महत्वको कुनै स्थानमा पुग्ने सम्भावना बढी रहेको स्रोतको भनाइ छ। प्रधानमन्त्री ओलीले उनलाई सोही स्थानमा स्वागत गर्ने योजना बनाइएको छ।
मोदीको यो भ्रमण पनि छोटो हुने अपेक्षा गरिएको छ।–00—
