सेतोनेपाल संवाददाता –
चितवन, २ साउन । रत्ननगर नगरपालिका–७ का नेचर गाइड गोविन्द राउतमाथि सैनिकद्वारा कुटपिट भएको घटनापछि उत्पन्न विवाद साम्य पार्न सौराहास्थित श्री नयाँ गोरख गण (क) गुल्मले राउतको सम्पूर्ण उपचार खर्च बेहोर्ने सहमति भएको छ।
आज विहान सौराहामा सम्पन्न सर्वपक्षीय बैठकले तीन बुँदे सहमतिमा पुगेको हो। सहमति अनुसार घाइते राउतको सम्पूर्ण उपचार खर्च श्री नयाँ गोरख गण (क) गुल्म सौराहाले बेहोर्नेछ।
साथै, कुटपिटमा संलग्न सैनिकहरूमाथि आवश्यक छानबिन जारी रहेको र छानबिनपश्चात सैनिक ऐनअनुसार विभागीय कारबाही गरिने सहमति भएको छ। यसबाहेक, घाइते राउत निको भएपछि पुनः सर्वपक्षीय छलफल गरेर आपसी मिलापत्र गर्ने सहमति पनि गरिएको छ। घटनामा संलग्न गस्तीमा रहेका सैनिकहरू पनि बैठकमा सहभागी थिए।

बैठकमा सेना पक्षबाट श्री नयाँ गोरख गण (क) गुल्म सौराहाका निमित्त गुल्मपति नेल्सन बस्नेत र चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टरका संरक्षण अधिकृत शान्त बहादुर मगरको सहभागिता थियो। पीडित पक्षबाट घाइते गोविन्द राउतकी दिदी कौशिला राउत, विपना राउत र रामगीता राउत सहभागी थिए।
त्यस्तै, रत्ननगर वडा नं. ७ का वडाध्यक्ष सजना महतो, वडा नं. ६ का वडाध्यक्ष किरण महतो, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरे, वडा नं. ७ का निवर्तमान वडाध्यक्ष लालबहादुर भट्ट, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका पूर्व अध्यक्ष बासुदेव ढुंगाना, टोल विकास संस्थाका अध्यक्ष रविन्द्र राउत र स्थानीय युवा समाजसेवी शरदकुमार महतोको रोहबरमा सहमति गरिएको हो।
उक्त बैठक चलिरहेका बेला आक्रोशित स्थानीय बासिन्दाले सेनाको कुटपिटको विरोधमा सौराहास्थित श्री नयाँ गोरख गण (क) गुल्म अगाडि प्रदर्शन गरेका थिए। उनीहरूले कानुनबमोजिम कारबाही गर्नुको सट्टा कुटपिट गरी गम्भीर घाइते बनाइएको भन्दै विरोध जनाएका थिए।
हाल घाइते गोविन्द राउतको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।


—-00—


