चितवन,२ साउन । भरतपुर महानगरपालिकाले अघिल्लो आर्थिक वर्षको तुलनामा आम्दानी र खर्च दुवै बढाएको छ । राजस्व सङ्कलनमा ८३ प्रतिशत लक्ष्य पुरा गर्न सफल भएको महानगरको दाबी छ भने पुँजीगत खर्च पनि उल्लेखनीय रूपमा बढेको छ ।
महानगरले २०७९/८० आर्थिक वर्षमा रु १ अर्ब ३६ करोड ६८ लाख ६१ हजार राजस्व संकलन गरेको छ, जुन अघिल्लो आवको तुलनामा रु ५ करोड ७६ लाख ९६ हजार बढी हो । कार्यालयले रु १ अर्ब ८० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भए पनि त्यसको ८३ प्रतिशत मात्र प्राप्त भएको हो ।
मालपोत र नदीजन्य पदार्थबाट अपेक्षित राजस्व नआउँदा लक्ष्य पुग्न सकेन-
राजस्व महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार, मालपोत कार्यालयबाट रु ७८ करोड उठ्ने अनुमान गरिए पनि रु ५२ करोड मात्र संकलन भएको छ । साथै, ढुङ्गा, गिट्टी, बालुवाका क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन ढिलो भएकाले पनि राजस्व घटेको बताइएको छ।
यद्यपि, सम्पत्ति करतर्फ भने लक्ष्यभन्दा दोब्बर राजस्व उठेको छ । रु ८ करोड ७८ लाख को लक्ष्य राखिएकोमा रु १५ करोड ८० लाख संकलन भएको हो । महानगरवासी सम्पत्ति करको दायरामा आउन थालेकाले यस्तो प्रगति सम्भव भएको अर्यालले जानकारी दिनुभयो।
खर्चतर्फ १२ प्रतिशत वृद्धि, पुँजीगत खर्च ६१ प्रतिशतभन्दा बढी
महानगरको पुँजीगत खर्च रु १ अर्ब ६८ करोड १५ लाख २३ हजार पुगेको छ, जुन कुल लक्ष्यको ६१.७१ प्रतिशत हो । अघिल्लो वर्ष मात्र ५०.४३ प्रतिशत पुँजीगत खर्च भएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार संघ तथा प्रदेश सरकारबाट प्राप्त प्रशासनिक भवन र रङ्गशालाको बजेट पुँजीगत खर्चमा नसमेटिएकाले त्यो समेत जोड्दा करीब ७० प्रतिशत पुँजीगत खर्च पुगेको बताउनुभयो।
उहाँले भन्नुभयो, “निरन्तरको प्रयास र अनुगमनका कारण पुँजीगत खर्च बढेको हो, तर अझै पनि हामी पूर्ण सन्तुष्ट छैनौं।”
काम समयमा भएकोमा कार्यवहाक नगरप्रमुख सन्तुष्ट –
कार्यवहाक नगरप्रमुख चित्रसेन अधिकारीले काम समयमै सम्पन्न हुनुको कारण योजना समयमै तयार पार्नु, प्राविधिकहरूको कार्यक्षेत्र समयमै तोक्नु र नियमित अनुगमन गर्नु रहेको बताउनुभयो।
उहाँले थप्नुभयो, “जे गरिएको छ, त्यो राम्रो हो, तर अझै पुगेको छैन। हामीले अझ सुधार गर्न आवश्यक छ।”
आर्थिक मन्दीको असर –
मालपोतको रजिष्ट्रेसन कम हुनु, नदीजन्य पदार्थको बोलकबोल समयमै हुन नसक्नु र घरबहाल कर लक्ष्यअनुसार उठाउन नसक्नुले कुल राजस्वमा असर पारेको महानगरका अधिकारीहरूको भनाइ छ । साथै, आर्थिक मन्दीकै कारण आम्दानीको स्रोतहरू प्रभावित भएका छन्।–00–


