लुतो फाल्दै साउन १ मनाउँदै नेपाली समाज

रेशम सापकोटा- सेतो नेपाल
माडी, १ साउन ।

चितवन १ साउन । देशभरै बिहानैदेखि लुतो फाल्ने चटारो छ। गर्मी संगै झरी सुरु हुने यामसँगै आउने थकान, ज्वरो, शरीर दुख्नेजस्ता लक्षणलाई ‘लुतो लागेको’ मान्ने परम्परा अझै पनि नेपाली समाजमा जीवित छ।

साउन १ गते बिहानै उठेर शरीरको लुतो फाल्ने चलन अहिले पनि शहरदेखि गाउँसम्म यथावत छ। खासगरी बिहानको समयमा घरका आँगन, चौतारा र चोकचोकमा कागती, तोरीको तेल, तील, रातो कपडा र अगुरबत्तीले लुतो फालिएको देखिन्छ।

चितवनको माडी नगरपालिका वडा नम्बर ७ का स्थानीय खडानन्द काफ्ले बिहानैदेखि तयारीमा व्यस्त थिए। हातमा तोरीको तेल र कागती लिएर शरीरमा तीन पटक घुमाए। त्यसपछि ढोकाबाहिर लगेर जलाए। “सानैदेखि आमा-बुबाले फालिदिनुहुन्थ्यो,” काफ्लेले सम्झिए, “रोग लाग्दैन भनेर विश्वास थियो, अहिले पनि उस्तै लाग्छ।”

वर्षा सुरु हुने बेला शरीर कमजोर हुने, बालबालिकामा नजर लाग्ने, ठुलाबडाको अनुभवमा ‘लुतो’ को असर देखिने जनविश्वास अझै हराएको छैन। त्यसैले आजको दिन ‘लुतो फाल्ने’ विशेष दिनका रूपमा मनाइन्छ।

कागती, तोरीको तेल, कालो तील, रातो कपडामा बाँधेर शरीरमा घुमाउने अनि जलाउने चलन छ्ब । यसरी नकारात्मक असर हट्ने, शरीर हलुका हुने,छाला सम्बन्धि रोग निको हुने, मन शान्त हुने विश्वास रहेको छ।

आज बिहान कतै घरको आँगनमा लुतो बलेको धुँवा उडिरहेको छ, कतै कागतीको टुक्रा सडक छेउमा छरिएका थिए । बालबालिकाले पनि आमा-बुबासँगै लुतो फाल्दै रमाइरहेका छन्।

कसैले वैज्ञानिक आधार खोज्छन्, कसैले परम्परामा विश्वास गर्छन्। तर वर्षौंदेखि चल्दै आएको यो अभ्यास आज पनि सजीव छ। नेपाली समाजले अझै पनि आफ्ना संस्कार हराउन दिएको छैन भन्ने सन्देश दिन्छ साउन १ मा फालिएको लुतोले।

Share:

सम्बन्धित समाचारहरु