पुस ३० देखि नारायणी एक्सपो २०८२, तयारी अन्तिम चरणमा

चितवन । पुस ३० गतेदेखि माघ १४ गतेसम्म सञ्चालन हुने नारायणी एक्सपो २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ।

रेड रक ईभेन्ट एण्ड म्यानेजमेन्ट प्रालि, भरतपुर चितवनद्वारा आयोजना हुन लागेको एक्सपोको हालसम्म करिब ८० प्रतिशत भौतिक तथा व्यवस्थापकीय तयारी सम्पन्न भइसकेको आयोजकले जनाएको छ।

आयोजक समितिका अनुसार आगामी पुस २८ गतेभित्र शतप्रतिशत तयारी पूरा गरिनेछ। एक्सपोलाई व्यवस्थित, सुरक्षित र दर्शकमैत्री बनाउन आयोजक समिति तीव्र गतिमा कार्यरत रहेको जानकारी पत्रकार सम्मेलनमार्फत गराइएको हो।

यसपटकको नारायणी एक्सपोमा २०० भन्दा बढी व्यवसायिक, औद्योगिक, कृषि, पर्यटन तथा सेवामूलक स्टलहरू रहनेछन्। स्वदेशी उत्पादन, स्थानीय उद्यम तथा साना–मझौला व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न क्षेत्रका उद्यमी, व्यवसायी र संघ–संस्थाहरूको सक्रिय सहभागिता रहने आयोजकले जनाएको छ। एक्सपोले स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सार्वजनिक विदा तथा चाडपर्वको समयलाई लक्षित गरी आयोजना हुने एक्सपो सबै उमेर समूहका दर्शकहरूका लागि आकर्षक गन्तव्य बन्ने आयोजकको विश्वास छ। एक्सपो परिसरभित्र व्यवस्थित रेष्टुरेन्ट तथा स्ट्यान्डर्ड फुड कोर्टको व्यवस्था गरिएको छ। जहाँ नेपाली, भारतीय, चिनियाँ, कोरियन फ्युजनसहित विभिन्न अन्तर्राष्ट्रिय स्वादका परिकारहरू उपलब्ध हुनेछन्।

यस वर्षको एक्सपोको अर्को प्रमुख आकर्षण भनेको विश्वप्रसिद्ध सहरहरूको थिम–सेटअप हो। लन्डन सिटी (ब्रिजसहित), पेरिस सिटी (एफिल टावरसहित), स्ट्याचु अफ लिबर्टी तथा काश्मिर भ्याली जस्ता अन्तर्राष्ट्रिय पहिचान बोकेका दृश्यहरूको एउटै स्थानमा अवलोकन गर्न सकिनेछ। यी थिम–सेटअपहरू फोटो, भिडियो तथा सामाजिक सञ्जाल सामग्रीका लागि विशेष आकर्षणका रूपमा रहनेछन्।

नारायणी एक्सपो २०८२ लाई केवल व्यापारिक मेला मात्र नभई कृषि, पर्यटन, संस्कृति र नवप्रवर्तनको प्रवर्द्धन केन्द्र का रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। एक्सपो अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक प्रस्तुति, बालमैत्री गतिविधि तथा ज्ञानमूलक प्रदर्शनीहरू सञ्चालन गरिनेछन्।

एक्सपो स्थलमा सुरक्षित वातावरण, व्यवस्थित पार्किङ, स्वच्छता र सुरक्षा व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ। दर्शकहरूको सहज आवागमन र सुरक्षाका लागि स्वयंसेवक, सुरक्षाकर्मी तथा व्यवस्थापन टोली परिचालन गरिनेछ। एक्सपोलाई चितवनसहित छिमेकी जिल्लाका करिब १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

हाल एक्सपोका केही सिमित स्टलहरू बुकिङका लागि बाँकी रहेका छन्। एक्सपो अवधिभर हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ। एक्सपो अवलोकनका लागि प्रवेश टिकट रु १००, विद्यार्थीका लागि रु ७० तथा अपाङ्ग व्यक्तिका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

एक्सपो व्यवस्थापन समितिका अध्यक्ष विकल क्षेत्री र एक्सपो संयोजक पालदेन लामाले सार्वजनिक विदा तथा उत्सवको अवसरमा नारायणी एक्सपो २०८२ अवलोकन गरी यसलाई भव्य, सभ्य र सफल बनाउन सम्पूर्ण दर्शक, व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवाला निकायलाई आग्रह गरेका छन्।–00–

Share:

सम्बन्धित समाचारहरु