माडीका बद्री सापकोटा, क्युस्यु क्षेत्रबाट NRNA कार्यकारी सदस्यमा उम्मेदवारी दिए

-रेशम सापकोटा – सेतो नेपाल
माडी, २८ असार ।

चितवनको माडी नगरपालिका–८ मा एउटा साधारण किसान परिवारमा जन्मिएका बद्री सापकोटा आज साधारण रहनसहनभित्र असाधारण सोच बोकेर जापानको क्युस्यु क्षेत्रमा सामाजिक अभियानमा जुटिरहेका छन्। बाल्यकालदेखि नै शान्त, अनुशासित र मेहनती स्वभावका सापकोटाले सानैमा गरेको संघर्ष, जिम्मेवारी र दूरदृष्टिले उनलाई आजको यो बिन्दुमा पु¥याएको हो।

२०१३ मा जापानको माटो टेकेपछि पनि उनको हृदय भने सधैं माडीमै अडिएको छ। देशको माया, नेपाली समुदायप्रतिको जिम्मेवारी, र सामाजिक सेवाको भावना बोकेर उनले जापानमा आफूलाई केवल श्रमिकको रूपमा मात्र होइन, नेपाली आवाजको प्रतिनिधिको रूपमा स्थापित गराएका छन्।

अहिले उनी थप जिम्मेवारीका साथ अगाडि बढ्ने संकल्पसहित गैरआवासीय नेपाली संघ (NRNA) जापानको क्युस्यु क्षेत्रीय कार्यसमितिको आगामी कार्यकाल (२०२५–२७) का लागि कार्यकारी सदस्य पदमा उम्मेदवार दियका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारीको औपचारिक घोषणा गर्दै सापकोटाले स्पष्ट शब्दमा लेखेका छन् ।
“पद होइन सेवा चाहिएको हो, जिम्मेवारी होइन भागबण्डा होइन, निष्ठा र व्यवहारमै नेतृत्व देखिनुपर्छ।”

उनको योजनामा केवल भाषण छैन, असल क्रियाकलाप छन्। आत्महत्या न्यूनीकरणका लागि नेतृत्व विकास तथा मानसिक सशक्तिकरण तालिम, जापानको कानुनबारे जानकारी दिन चेतनामूलक कार्यक्रम, नेपालीलाई नेपालीबाटै हुने ठगी रोक्न सचेतना र संस्थाको प्रणालीभित्र पारदर्शिता र विधिसम्मत स्थायित्व स्थापना — यी सबै बुँदामा उनी दृढ छन्।

सापकोटा भन्छन्,
“NRNA सशक्त बन्नुपर्छ, समावेशी बन्नुपर्छ। नेतृत्वमा व्यावहारिकता, सेवामा समर्पण, र संगठनमा उत्तरदायित्व हुनैपर्छ।”

त्यही विश्वासका साथ उनी जापानभरि रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूसँग एनआरएनए जापानका पञ्जीकृत सदस्यहरूमार्फत आफूलाई अमूल्य मत दिएर अत्यधिक बहुमतका साथ विजयी गराउन फेसबुकमार्फत हार्दिक अपील गरिरहेका छन्।

उनी थप्छन् —
“नेपाल हाम्रो पहिचान हो, जहाँ भए पनि नेपाली हुनु गर्व हो। एनआरएनए केवल पदको लागि होइन, सेवाको अवसर हो।”

माडीको माटोमा हुर्किएको सोच जापानमा पनि नेपाली समुदायको सेवाका लागि बगिरहेको छ। अब त्यो बग्दो प्रवाहलाई संस्थागत रूप दिन बद्री सापकोटाले सुरु गरेका छन् एक विश्वासको यात्रा — आत्मसम्मान, समानता र सेवाको यात्रा।

Share:

सम्बन्धित समाचारहरु